११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

इलामको विकासमा योगदान गर्नेको सम्मानमा स्रष्टा पार्क निर्माण


१४ कात्तिक इलाम । इलामको विकासमा विभिन्न क्षेत्रबाट योगदान गर्नेको सम्मानमा इलाम नगरपालिकामा स्रष्टा पार्क निर्माण गरिएको छ ।

कला क्षेत्र, साहित्य क्षेत्र, राजनीति, पत्रकारिता खेलकुदको माध्यबाट इलामको विकासमा योगदान गर्नेको सम्मानमा पार्क निर्माण गरिएको हो । पार्कमा उनीहरूको नामाकंन गरिएको छ ।

‘इलाम नगरपालिकालाई अहिलेको अवस्थामा ल्याउनको लागि विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तिको सम्मानको खातिर स्रष्टा पार्क निर्माण गरिएको हो’, इलाम नगरपालिका प्रमुख महेश बस्नेतले भने । इलाम नगरपालिकाले १९ लाख ५९ हजार रुपैयाँको लगानीमा पार्क निर्माण गरेको हो ।

नगरपालिकाले इलाम बजार नजिकैको खोल्सीलाई व्यवस्थापन गरेर विभिन्न संरचना बनाइरहेको छ । सोही क्षेत्रमा पार्क निर्माण गरिएको हो । खोल्सी व्यवस्थापन भएको क्षेत्रमा मोटरसाइकल पार्किङ भवन, कभर्ड हल, तरकारी बजार निर्माण भइसकेको छ ।

त्यस्तै पशुबजार, आँखा अस्पताल निर्माणाधीन छन् । पार्कमा चिकित्सक र नर्सको सम्मानको लागि चिकित्सक र नर्सको प्रतिमा समेत स्थापना गरिएको छ ।

पार्कको प्रवेश द्वारमा इन्टरलकिङ टायल, परिसरमा नाली, सिँढी, रेलिङ, बगैँचा निर्माण भएको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार १८:४८