१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विपत व्यवस्थापनका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको छः गृहमन्त्री खाँण


५ कात्तिक, काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिड्नुपर्ने चुनौती रहेको बताए ।

शुक्रवार काठमाडौँमा आयोजित प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गरे । उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरुपनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए ।

नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफुहरुको काँधमा आएको उनले बताए । उनले भने – ‘हाम्रो बाजेबज्यै, हाम्रो आमा बुबाहरुले बेहोरेको भन्दापनि पृथक प्राकृतिक विपतलाई हामीले सामना गर्नुपर्या छ । अब यहाँको लेदो, ढुंगामाटो बगेर गएपछि हाम्रो छिमेकी मित्रराष्ट्रमा पुग्ने भयो । गर्दागर्दै अरु छिमेकी राष्ट्रमा पुग्ने भयो । अब हाम्रो हिमालको उचाइ घट्ने अनि समुद्रको सतह बढ्दाखेरी समुन्द्र किनारलाई पनि त्यसले गम्भिर प्रभाव पार्छ ।

खाली नेपालको मात्र सवाल भएन । त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालको प्राकृतिक प्रकोप, प्राकृतिक जुन चुनौतीहरु छ, यसको संरक्षणका लागि त्यसलाई कसरी हामीले साथै लिएर हिड्ने ? यो धेरै ठुलो चुनौती हाम्रो काँधमा आएको छ ।’ गृहमन्त्री खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताए ।

सबै नेपाली एकजुट भएर विपतको सामना गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले भने ‘सरकारले पनि आफ्नो सम्पूर्ण संयन्त्रहरुलाई, सम्पूर्ण विभागहरुलाई, सम्पूर्ण पक्षलाई जुटाएर अगाडी बढ्नेछ । हामी सबै नेपालीहरुले पनि जुटेरै विपतबाट नेपालीहरुको नेपालको भुमिको पनि रक्षा गर्नेछौँ ।’ पानि बिनाको जिवन नहुने भन्दै उहाँले प्राकृतिक विपत्तिबाट सर्वप्रथम नदीलाई बचाउनुपर्ने र पानिको रक्षा गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १४:३५