१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

३८ घण्टापछि सञ्चालनमा आयाे डुबानमा परेको दुहबी सबस्टेसन, विद्युत आपूर्ति सूचारु


४ कात्तिक, काठमाडौँ । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार विहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ ।

‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौँ,’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब दुहबी सबस्टेसनबाट निकालिएका लाइनको क्रमश: चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिरहेका छौँ ।’

प्रदेश नं १ का जिल्लामा विद्युत आपूर्ति गर्ने मुख्य सबस्टेसन दुहबी डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत आपूर्ति बन्द भएको थियो । सबस्टेसन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत आपूर्ति सूचारु भइसकेको छ ।

उपकरणमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए । सबस्टेसनमा रहेका ४ वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभीए छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १४:४९