८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मन्त्री र कांग्रेस-माओवादी नेतालाई भारतीय दूतावासमा रञ्जित रेसँग तातो भात खाने निम्तो


४ कात्तिक, काठमाडौँ । २०७२ सालमा विनासकारी भूकम्पको पीडाले थलिएको नेपालमाथि नाकाबन्दी लगाउन प्रमुख भूमिका खेल्ने पूर्व भारतीय राजदूत रञ्जित रेसँग तातो भात खान नेपाल सरकारका मन्त्री र सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतका पार्टीका महत्वपूर्ण नेताहरूलाई निमन्त्रणा दिएको छ ।

नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रे ।

भारतीय दूतावास स्रोतका अनुसार नेपालका लागि भारतीय राजदूत विनमोहन क्वत्राले पूर्व राजदूतसँग डिनर मिटिङ भन्दै निमन्त्रणा पत्र पठाएका छन । निमन्त्रण मन्त्रीहरूले इमेल मार्फत पाइसकेका छन भने कतिपयको मोबाइलमा म्यासेज पुगेको छ ।

यही अक्टोबर २५ अर्थात कात्तिक ८ गते सोमबार राति ७ः३० बजे भारतीय दूतावासमा नेपाल सरकारका मन्त्री र सत्तारूढ दलका महत्वपूर्ण नेतालाई निम्तो दिइएको छ । त्यसअघि र पछि पनि कांग्रेस, मओवादी र जसपाका केही नेताहरूसँग रेले वान टु वान छलफल गर्ने तय भएको छ ।

नेपालमा अस्थिरता चाहने र संविधान नै बन्न नदिने खेलमा खुलेर लागेका एक जना विदेशी हुन रे । जसको कार्यकाल नेपाली नागरिकले बिर्सन चाहेका थिए । उनले संविधन जारी हुनबाट रोक्न भारतीय प्रधानमन्त्रीको दूतका रूपमा छुट्टै प्रतिनिधि समेत मागाएका थिए ।

तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कार्यकालमा २०७० साल भदौ १७ गते राजदूत बनेर काठमाडौं आएका राजदूत रे नेपालमा रहँदा धेरै विवादमा तानिए ।  उनको कार्यकालमा ६ महिना लामो नाकाबन्दी भयो । जसको मुख्य योजनाकार उनै हुन । नाकाबन्दीका कारण लाखौं नेपालीले दुःख पाए । सँढे ३ वर्ष नेपालमा रहँदा उनले नेपाली र नेपालको विरूद्धमा हुने गतिबिधिमा बढी सक्रियता देखाए ।

रेले नाकाबन्दीमा भारतसँग शिर ठाडो बनाएर जुधेको तत्कालीन एमाले नेतृत्वको सरकार ढाल्न समेत भूमिका खेलेका थिए । रे लगायतको काउन्सिलिङ पाएका एमालेका तत्कालीन नेता माधवकुमार नेपालले संसदमा आफ्नै दलका प्रधानमन्त्रीको विरूद्धमा अविश्वासको प्रस्तावमाथि छलफलका क्रममा प्रधानमन्त्री र सरकारमाथि कुण्ठा पोखेका थिए । जसको नेपाल निकटकै नेता कार्यकर्ताले समेत चर्को आलोचना गरेका थिए ।

रेका त्यस्ता गतिबिधि पछि नेपालको संसदमा उनलाई नेपालबाट भारत फिर्ता पठाउन आवाज उठेको थियो । संसदभित्र नाराबाजी नै गर्दै नेपाल मजदूर किसान पार्टीका सांसदद्धय प्रेम सुवाल र अनुराधा थापा मगरले रेलाई देश निकाला गर्न माग गरेका थिए ।

उनीहरुले त्यतिखेर संसदमा नेपालको संविधान संशोधनमा हस्तक्षेप गर्ने भारत को हो ? देश बिखण्डन गर्न पाइदैन, राजदूत रेलाई फिर्ता गर भन्ने नारा लगाएका थिए । नेपालको नयाँ संविधानविरोधी रेको नेपाल भ्रमण र उनले मन्त्री लगायत सत्तारूढ दलका नेतासँग गर्ने डिनर मिटिङले अहिलेको राजनीतिक संकटलाई थप गहिरो बनाउने अनुमान गरिएको छ ।

नेपालका लागि भरतीय राजदूत विनयमोहन क्वात्रा ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार ०८:२४