६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

बैतडीमा सरकारी संरचना अपांगमैत्री नहुँदा समस्या


३१ असोज , बैतडी । बैतडीमा सरकारी कार्यालयका भवन संरचनाहरू अपांगमैत्रL नहुदाँ अपांगता भएका व्यक्तिहरूलाई समस्या भएको छ । बैतडीका कुनै पनि स्थानिय तहका भवन अपांगमैत्री नभएको अपांगता भएका नागरिकहरूको पुर्नस्थापना केन्द्र बैतडीका अध्यक्ष अम्वादत्त भट्टले बताए ।

सेवा प्रदायक निकाय समक्ष पुग्न नसक्दा अपांगता भएका व्यक्तिका समस्या सरोकारवाला निकायसामु नपुगेको उनले बताए । ‘अपांगतामैत्री संरचना नहुँदा हामी सरोकारवाला व्यक्तिलाई भेट्नै पाउँदैनौँ । हाम्रो आवाज सरोकारवाला निकायसँग नपुग्दा हाम्रा लागि आउने बजेट कता खर्च गर्छन् । केही थाहा छैन् । आएको बजेट उनीहरूकै लागी पुग्दैन् होला हामीलाई के दिन्थे ?’, उनले भने । हरेक भौतिक संरचनाहरू अपांगमैत्री बन्नुपर्नेमा उनको जोड रहेको छ ।

हाम्रो गाउँसमाजमा बिभिन्न प्रकृतिका अपांगता भएका नागरिकहरू रहेका छन् । कोही दुष्टिविहीन छन् भने धेरैजसो हातखुट्टाका अपांग, बोल्न नसक्ने, कान नसुन्ने लगायतका फरक क्षमता भएका व्यक्ति रहेकाछन् ।

सरकारी संरचना अपांगमैत्री नबनेको खण्डमा योजना पास नगर्ने नियम भएपनी बैतडीका कुनै सरकारी संरचना अपांगमैत्री नबन्नु दु:खको कुरा भएको दृष्टिविहीन संघका सुदुरपश्चिम प्रदेश सदस्य चन्द्रदेव जोसीले बताए ।

नेपालमा ३० लाख बढी अपांगता भएका व्यक्तिहरू रहेका भए पनि उनीहरूका माग सुनिश्चित हुन नसकेको जोसीले बताए । बैतडीमा बनेका सरकारी भवन, सार्वजनिक शौचालय, धारा, बाटो लगायतका कुनै पनि संरचना अपांगमैत्री नभएको उनले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार १६:४४