१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बदलिएको परिवेश : गोठ त्यागेर प्रसूति गृहमा सुत्केरी


२७ असोज , बागलुङ । घरमा बच्चा जन्माउँदा अशुभ हुने मान्यताको कारण बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाकी ललिता गोताले आफ्नो दोस्रो सन्तानलाई घरदेखि टाढा रहेको गोठमा गएर जन्म दिइन् । पहिलो सन्तान भारतमा जन्माएकी थिइन् ।

भारतबाट घर फर्केपछि दोस्रो सन्तानको गर्भास्थामा उनले एक पटक पनि गर्भ जाँच गरिनन् । बच्चा जन्मने महिना लागेपछि उन खुंगाकै ठूलोघर भन्ने ठाउँमा रहेको गोठमा गएर दोस्रो बच्चालाई जन्म दिइन् । सुत्केरी अवस्थाको एक महिना गोठमै बिताइन् ।

घर पायकमा स्वास्थ्य संस्था नहुनुका साथै गर्भ जाँच गर्नुपर्छ भन्नेबारे जानकारी नहुँदा दुई सन्तानको आमा बन्ने बेलासम्म एक पटक पनि स्वास्थ्य परीक्षण नगरेको गोतामेको भनाइ छ । गोतामेले डेढ वर्ष तेस्रो सन्तानलाई जन्म दिने समयमा चार पटक गर्भ परीक्षण गर्नुका साथै स्वास्थ्य संस्थामा नै सुत्केरी भइन् ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि वडा कार्यालयले खुंगाको धिरी गाउँमा सामुदायिक स्वास्थ्य इकाइ प्रसूति गृह सञ्चालन गरेपछि सो क्षेत्रका महिलाहरूले मापदण्डअनुसार गर्भ परीक्षण गर्नुका साथै घरमा सुत्केरी हुने दर शून्य प्राय भएको सामुदायिक स्वास्थ्य इकाइका अहेब हिरा गैरेले बताइन् ।

गाउँमा प्रसूति गृह सञ्चालन भएपछि स्थानीय महिलाहरू खुःसी भएका छन् । पहिले पहिलो गर्भ परीक्षण गर्नुका साथै औषधि खाने चलन थिएन, स्थानीय हिरा गोतामेले भनिन्, ‘अहिले नयाँ छोरी बुहारीलाई स्वास्थ्य संस्थामा जाने सल्लाह दिन थालेका छौँ ।’

वडा कार्यालयले डेढ वर्षअघि स्थानीय एक व्यक्तिको घर भाडामा लिएर सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेको थियो । स्वास्थ्यकर्मीको निगरानीमा गुन्द्रीदेखि सुरू भएको सुत्केरी गराउने सुविधा अहिले सुविधा सम्पन्न बेड र भवनमा पुगेको छ ।

वडा कार्यालयले भवन र शौचालय निर्माण गरेको छ । प्रसुति गृह सञ्चालनको लागि आवश्यक पर्ने स्वास्थ्य तथा फर्निचरका सम्पूर्ण सामग्री फेयरमेड फाउन्डेशनद्धारा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाले उपलब्ध गराएको थियो ।

परियोजनाले सुत्केरी बेड, टेबल, कुर्ची, बेबी वार्मर मेसिन जस्ता करिब दुई लाख ५० हजार बराबरको स्वास्थ्य तथा फर्निचर सामग्री प्रदान गरेको परियोजना संयोजक गणेश बरुवालले जानकारी दिए ।

‘नर्मल प्रसूति गृह सञ्चालनको लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध छ’, अहेब गैरेले भनिन्, ‘विपन्न परिवारको लागि फेयरमेड र विवाइसी साथी बनेर आउनुभयो ।’

भाडाको घरमा स्वास्थ्य सामग्रीविहीन अवस्थाबाट सुरु भएको प्रसूति सेवा परियोजनाकै कारण जनमुखि बनेको एनम बालकुमारी बुढाथोकीको भनाइ छ ।

भौगोलिक दृष्टिले ठूलो र छिरलिएको वस्ती हुँदा एउटा मात्र स्वास्थ्य चौकीले सेवा प्रदान गर्न कठिन भएपछि सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको वडाध्यक्ष तिलक पुनको भनाइ छ । ग्रामिण स्वास्थ्य सुधार परियोजनाको सहयोगले प्रसूति गृह सञ्चालन र घरमा हुने सुत्केरी न्युनिकरण गर्न सहज भएको वडाध्यक्ष पुनको भनाइ छ ।

खुङ्गाको छोरे गाउँमा स्वास्थ्य चौकी छ । साविक वडा नम्बर ६, ७ र ९ का स्थानीयलाई स्वास्थ्यचौकीको सेवा पाउन कठिन भएपछि गत वर्ष १ असारदेखि धिरीमा स्वास्थ्य इकाइ स्थापना गरिएको थियो । स्वास्थ्य इकाइमा एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीको व्यवस्थापन ढोरपाटन नगरपालिकाले गरेको छ ।

धिरीमा प्रसूति गृह सञ्चालन भएपछि किरी, फलाम खानी, माथिल्लो फोर्से, झाँसरी, पुतारखोला, नुलिखेल, रिखुवा, रुपौली, छपाते क्षेत्रका स्थानीयले स्वास्थ्य सेवा पाएका छन् । सुरक्षित प्रसूतिको लागि आवश्यक मेडिकल औजार आवश्यकताअनुसार सहयोग गर्ने परियोजना संयोजक बरुवालको भनाइ छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार १९:१५