दैनिकी

  • २९ आश्विन २०७८, शुक्रबार १७:१०

दैलेखका ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल जोखिममा

२९ असोज , दैलेख । कर्णाली प्रदेश अन्र्तगतको एक सुन्दर र पर्यटकीय स्थलका हिसावले एकदमै महत्वपुर्ण जिल्ला हो । विभिन्न थुप्रै पर्यटकीय स्थलले भरिभराउ जिल्ला हो ।
दैलेख ऐतिहासिक, धार्मिक पुरातात्विक र पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला हो । नेपाली भाषाको पहिलो शिलालेख यहीँ पर्छ । ३२ जातजातिको उद्गमस्थल यहीँ हो । दैलेखसँग सिंजा सभ्यता जोडिन्छ । बाइसे–चौबिसे राज्यका बेला निर्माण गरिएका देवल र कीर्तिखम्बहरू छन् । पाथरनाउली र कोतगढी दैलेखमै पर्छ । पानीमाथि ज्वाला बल्ने ठाउँ हो यो । ऐतिहासिक र धार्मिक पुरातत्वका दृष्टिले मात्र होइन, मनोरम प्राकृतिक दृश्हरूले भरिभराउ छ ।

यहाँ झरना छन् । ताल छन् । गुफा छन् । त्यसैले त दैलेख धार्मिक आस्थाका लागि मन्दिर हो, ऐतिहासिक खोज अनुसन्धान गर्ने अध्ययनका निम्ति पाठशाला र पर्यटकका लागि रोजाइको गन्तव्य ।

तर, लामो इतिहास बोकेका सम्पदाहरूको अस्तित्व वर्षेनि संकटमा छ । त्यस्ता संरचना जीर्ण बन्दै गएका छन् । धार्मिक तथा ऐतिहासिक स्थलहरू मर्मतसम्भारको पखाईमा छन । तीनै तहका सरकारसँग सम्पदाको संरक्षका लागि ठोस योजना छैनन् । अधिकांश पालिकाहरूले ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू जोगाउने नीति, कार्यक्रम र बजेट ल्याएपनि प्रभावकारी कार्यान्वयन भएको पाइँदैन ।

ओझेलमा पाण्डवका देवल

पुरात्तात्विक महत्व बोकेका देवलको संरक्षण नहुँदा अहिले जीर्ण अवस्थामा रहेका छन् । सांस्कृतिक र धार्मिकरूपमा उक्त देवलहरूको महत्व भए पनि आधुनिकतासँगै युवाहरूमा त्यसको महत्व बुझाउन नसक्दा र स्थानीय तथा प्रदेश सरकारले चासो नदिँदा पाँच भाइ पाण्डवका पञ्च देवलहरू जीर्ण अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

‘सांस्कृतिक र धार्मिक रूपमा महत्व बोकेका पञ्चदेवलहरूको छुट्टै महत्व छ, तर यसको महत्वबारे युवाहरूलाई बुझाउन जरुरी छ । जीर्ण भएका सम्पदालाई त्यसको मौलिकता नमर्ने गरी पुरानै शैलीमा पुनः निर्माण गर्नुपर्ने स्थानीय सरकार र नागरिकले संरक्षणमा चासो देखाउनुपर्ने र पुरात्तत्व विभागले पनि संम्वेदनशिल भएर काम गर्नुपर्ने भएपनि सबै निकाय गैरजिम्मेवार बनेका छन ।

दैलेखको ११ वटा स्थानीय तहहरूमध्ये चारवटा स्थानीय तहमा पुरात्तात्विक, सास्कृतिक र धार्मिक महत्तव बोकेका स्थलहरू रहेका छन । नारायण नगरपालिका–७ को किमुँगाउँ, वडा नम्बर ४ को देवलकाँडा, वडा नम्बर २ को जाहरकोट, वडा नम्बर १ को कुइकानामा र महाबु गाउँपालिकाको वडा नम्बर ५ काँसिकाँधमा पाण्डवहरूले बनाएका देवलहरूको संरक्षण र प्रचार–प्रसार नहँुदा ओझेलमा परेका पर्दै गएका छन् ।

त्यस्तै भैरवी गाउँपालिका –३ को कोइराल गाउँ, वडा नम्बर ७ को ब्याउले, दुल्लु नगरपालिका–३ को बडालम्जि, वडा नम्बर १२ को गौरी, वडा नम्बर ५ को पटाङ्गिनी, वडा नम्बर–१० को कालभैरवमा र जिल्लाभर पञ्चदेवल, सिङ्गल र दुईवटासम्म देवल गरी तीन सय २५ भन्दा बढी रहेका छन ।

ललाटेश्वर महादेवको मन्दिर

दुल्लू नगरपालिका–१० गमौडीमा रहेको ललाटेश्वर महादेवको मन्दिर पनि ओझेलमा परेका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमध्येको एक हो । जीर्णोद्वार नहुँदा यसको अस्तित्व संकटमा छ । यो पञ्चकोशी क्षेत्रभित्र पर्ने सबैभन्दा धेरै अर्थात पाचँ वटा ज्वाला एकै स्थानमा बल्ने मन्दिर हो । आकर्षक ढुङ्गैढुङ्गाले ललाटेश्वर महादेवको मन्दिर बनेको छ ।

रहेको जग्गा व्यक्तिको नाममा छ । भित्र निकै कलात्मक दृश्य देख्न सकिन्छ । मन्दिरभित्रको ढुङ्गाको चार वटा खम्बामध्ये तीन वटा भत्किएको अवस्थामा छन् । यसलाई महाभारतकालीन पाँच पाण्डवहरूले बनाएको भन्ने विश्वास गरिन्छ । मन्दिर नजिकैका वीरखम्बहरूमा रहेका अभिलेख तथा आकृतिहरू मेटिइसकेका छन । मन्दिरको भित्रि भागमा रहेका चक्राकार शिला टुटेका छन, घोटिएका छन ।

श्री स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यसै स्थानमा आइपुग्दा सतीदेविको निधार पतन भएको थियो । त्यसैले यस स्थानलाई ललाटेश्वर स्थान भनिन्छ । कलात्मक र पाञ्चायन वास्तुपद्धतिमा निर्मित यो मन्दिर अहिले जीर्ण छ ।

नेपाली भाषाको पहिलो शिलालेख

जिल्लाका ऐतिहासिक स्थलमध्ये एक हो, पहिलो शिलालेख । यसलाई कीर्तिखम्ब पनि भनिन्छ । संरक्षण नहुँदा यो स्थान गाइगोरु र बाख्रा बाँध्ने थलो बन्दै गएको छ । नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्ब (कीर्तिस्तम्भ) दुल्लूबासीको मात्र नभएर नेपालीहरूको गहनाका रूपमा लिने गरिन्छ । तर, संरक्षणमा स्थानीय सरकार बेखबर जस्तै छ । संरक्षणको लागि योजना बने, बजेट विनियोजन भयो र खर्च पनि गरियो । तर, लाखौं रकम खर्चिएको यो स्थानको मुहार फेरिएन । स्थानीयले समेत यसको महत्व बुझ्न सकिरहेका छैनन । कीर्तिखम्ब परिसरमा नेपाली भाषाका लिपी भएका खम्बाहरू बस्तुभाउ बाँध्ने किलाका रूपमा प्रयोग हुँदै आएका छन् ।

प्रकाशित मिति: २९ आश्विन २०७८, शुक्रबार १७:१०