१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

प्रधानसेनापति प्रभुराम शर्माको दसैँ : जेठो दाजुबाट टीका, शक्ति पीठहरुको दर्शन, शुभेच्छुकलाई जमरा लगाइदिने


प्रभुराम शर्मा, प्रधानसेनापति

दसैँ पनि ड्युटी नै हो । सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो । अष्टमीमा साधारण पूजाहरु हुन्छ । नवमीमा कोत पूजामा सबैभन्दा खटिनुपर्छ । साइतमा हुने मुल पूजा सरिक हुन्छु । शक्ति पीठहरुको दर्शन हुन्छ ।

दसैँमा आफ्नो पारिवारिक टीका हुन्छ । बुवाआमा हुनुहुन्न । जेठो दाजुबाट टीका थाप्छु । अन्य मान्यजनसँग पनि लगाउँछु । एकादशीको दिन संगठनका मातहत युनिटका इच्छुक फौजी र शुभेच्छुकलाई आफ्नो निवासमा टीका दिन्छु ।

म काठमाडौंकै स्थायी बासिन्दा भएकाले मेरो दसैँ यतै हुन्छ । अध्ययन र घुमघामको अवस्था छैन ।

हामी फौजीलाई अरुजस्तो फुर्सद भएर दसैँ मनाउने भन्ने हुँदैन । ब्यारेकभित्रै मनाउँछौं । राखिएको जमरा ब्यारेक प्रमुखले टीका दिन्छन् । पल्टनमा सबै सैनिक कर्मचारीलाई बडाखाना हुन्छ ।

विदा जानेहरु सैनिक कर्मचारीहरुलाई वेलफेयर फ्लाइट र वेयलफेयर सवारी साधनबाट पठाएका छौं । जमिन साधनबाट करिब १३ सय र जहाजबाट साढे दुई सयभन्दा बढी कर्मचारीलाई दुर्गम दुर्गम ठाउँमा जानेलाई आन्तरिक व्यवस्थापनमा निशुल्क पठाइसकेका छौं । न्यूनतम जनशक्ति ब्यारेकको सुरक्षामा रहन्छन् । बाँकी विदामा जान्छन् ।

नेपाली सेनाले धर्म, संस्कृति र परम्परालाई जुनसुकै स्थानमा पनि जगेर्ना र प्रवर्द्धन गर्न योगदान गर्दै आएको छ । यसका लागि हाम्रो लोकल युनिटले पनि सहयोग पुर्‍याउँछन् । राष्ट्रियस्तरमा भएका समारोहमा पनि योगदान पुर्‍याउँछौं ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार १५:०४