१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

गोरखाकाे रुईला भन्ज्याङ नाका दुई वर्षदेखि ठप्प


२७ असोज , पोखरा । उत्तरी गोरखा, सीमा नम्बर ३५ पिलर (रुईला भन्ज्याङ) दुई वर्षदेखि बन्द छ । अविरल वर्षाको कारण तल्लो क्षेत्रबाट उक्लिने सबै बाटो ठप्प छ । मान्छे र घोडा खच्चड हिँड्न सकस पर्छ । एक हिसाबले यी बाटाहरू पूर्णतः बन्द नै छन् । त्यसो त उत्तरी गोरखा छुने सडकको ट्रयाक अहिलेसम्म खुलिसकेको छैन ।

भौगोलिक विकटताका कारण सडक विस्तारमा समस्या परेको हो । अहिले नेपाल सरकारले प्रत्येक पालिकाको केन्द्र जोड्ने सडकलाई प्राथमिकताका साथ कार्यान्वयनमा लगेको छ । चुमनुब्री गाउँपालिका हालसम्म सडक सञ्जालले नछोएको पालिका हो ।

वर्षाले तल्लो बाटो भत्किएको र उत्तरी नाका पनि बन्द भएकोले माथिलो गाउँहरूमा दैनिक उपभोग्य समानको अभाव छ । चुमनुब्री क्षेत्रका नागरिकको दैनिक उपभोग्य सामग्री काठमाडौंबाट भन्दा चीनतिरबाट झर्छ ।

३५ नम्बर पिलर अर्थार रुईला भन्ज्याङबाट उनीहरू सामग्री खरिद गर्छन् । दुई वर्षदेखि बन्द नाका खुलाउने प्रयास कतैबाट नभएकोले खाद्यान्न अभाव सुरु भएको चुमनुब्री १ का सदस्य निमा लामाले बताए ।

‘हामी मात्रै कराएर भएन । राजनीतिक मान्छेहरूलाई भनेको हो । हामीलाई खानपिनमा समस्या भयो । हाम्रो जीवनशैली माथिबाटै चल्छ । नाका खोल्न धेरै प्रयास गरेको हो । खै अहिलेसम्म खुलेन,’ उनले भने, ‘घ्यु, चिया, नुन र पिठो तिब्बततिरबाट किन्नुपर्छ । तिब्बती नुन र चिया छुट्टै हुन्छ । काठमाडौंमा त्यस्तो पाउँदैन । पाए पनि ल्याउन पनि गाह्रो हुन्छ ।’

नाका खोल्न नेपाल पक्षले कुनै पहल नगरेकोले अहिले खुल्ने सम्भावना नभएको लामाले सुनाए । ‘वडाबाट पत्र गएको छ । मैले व्यक्तिगत रूपमा तिब्बत केरुङ प्रमुखसँग कुरा गरेको छु । उनीहरू नेपाली प्रतिनिधिले कुनै कुरा नगरेको जवाफ फर्काउँछन्,’ उनी भन्छन्, ‘केरुङ प्रमुखले तत्काल नखोल्ने कुरा गरेका छन् । दैनिकी चलाउन मुस्किल परिसक्यो ।’

तिब्बतबाट रुईला भञ्ज्याङसम्म मोटरबाटो खुलेको छ । गोरखामा ६ वटा नाका भए पनि रुईलाबाट मात्र सामान आयात निर्यात हुन्छ । कोरोना भाइरसका कारण दुई वर्षदेखि नाकामा हुने व्यापार मेलासमेत नलागेको लामाले बताए ।

‘एक वर्षमा तीन पटकसम्म बजार खुल्थ्यो । त्यतिबेला यहाँका मान्छेले सामान भण्डार गरिराख्थे । अहिले घरमा खाने अन्न छैन, जनताले धेरै दवाव दिएका छन्,’ उनी अघि भन्छन्, ‘माथि नाका बन्द हुँदा मनाङ र गोरखाबाट ढुवानी गथ्र्यौं । यता पनि बाटो अवरुद्ध भएको छ । के खाएर बस्ने ?’

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले स्थानीयकै माग बमोजिम नाका खोल्न गृह मन्त्रालयलाई पत्र पठाएको जानकारी दिए । ‘उहाँहरूले निवेदन दिनुभएको छ । हामीले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई नाका खोल्न सहजीकरणको लागि पत्र पठाएका छौं,’ उनले भने, ‘नाका नखुल्दासम्म हेलिकोप्टरमार्फत भए पनि सामग्री ढुवानी गर्ने सरकारको दायित्व हो । तर, छिटै नाका खुल्छ होला ।’

चुम क्षेत्रका लागि हेलिकोप्टरमार्फत चामल ढुवानी भइरहेको छ । बाढीले बगाएका बाटाहरू मर्मत चलिरहेको छ । खासगरी मनाङतिरबाट उत्तरी गोरखाको ढुवानी सहज हुने भएकोले लार्के नाकालाई चुस्त राख्न पहल गरिएको मनाङको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले यो नाका तत्कालै खोल्नुपर्ने बताए । ‘माथिल्लो गोरखाको जीवन धान्ने नाका नै यही हो । लामो समय बन्द हुँदा दैनिकीमा समस्या परेको छ,’ उनले भने, ‘जतिसक्दो छिटो पहल होस् । तत्कालै नाका खुलोस् । म सरकारको ध्यानाकर्षण गराउँछु ।’ त्यहाँबाट साम्दो, ल्हो, विहि, प्रोक, चुम्चेत, सामागाउँ क्षेत्रमा सामान आयात हुन्छ । नेपालतिरबाट पनि च्याङग्राको ब्ल्यांकेट, जडिबुटीलगायत सामग्री चीनतिर निर्यात हुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार १४:३८