६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

गजेन्द्र हमालको नियुक्ति र राजीनामाबारे प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छ : प्रकाशमान सिंह


२६ असोज , काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने सिंहको भनाइ थियो । उनले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र स्वयम् प्रधानन्यायाधीशले पनि हमालको विषयमा स्पष्टिकरण दिनुपर्ने बताए ।

बुटबल पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवाले गरेको गल्तीको स्पष्टीकरण नेकपा माओवादी अध्यक्ष प्रचण्डले दिनुपरेको बताए । ‘गल्ती सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ हामीले दिनुपर्ने,’ उनले भने, ‘प्रचण्डजीले कांग्रेसले हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनु पर्‍यो नि । यो विषयमा प्रधानन्यायाधीश पनि विवादमा तानिएकाले स्पष्टीकरण दिनुपर्छ ।’

नेता सिंहले प्रधानमन्त्री देउवालाई आफू प्रम हुँदा घटाएको आईजीपी काण्ड र प्रधानन्यायाधीश सुशील कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेसले भोग्नु परेको नतिजा सम्झन पनि अनुरोध गरे । कांग्रेसँग २५ प्रतिशत सांसद नहुँदा पनि तत्कालीन प्रम केपी ओलीको विशेष निगाहले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको उनको भनाइ थियो ।

फरक प्रसंगमा उनले मोतिपुर घटनाको यथार्थ सार्वजनिक गर्न माग गरे । गोली लागेर ४ जनाको ज्यान जानु दुःखद भन्दै उनले सरकारले मानव सुरक्षा गर्न नसकेको आरोप लगाए । पैदल हिँडेर न्याय माग्न माइतीघर मण्डलामा आएकाहरुमाथि पुलिस लगाएको भन्दै उनले लोकतान्त्रिक पार्टीका सभापति तथा प्रधानमन्त्रीले जनताको दुःखलाई वेवास्ता गरेको बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार १६:०९