१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

संसद् सहज भएपछि तेजाबसम्बन्धी अध्यादेश फेरि सक्रिय : मन्त्री उमा रेग्मी


२६ असोज चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले संसद सहज भएपछि तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्ने अध्यादेश सक्रिय हुने बताएकी छन् । मन्त्री नियुक्त भएपछि मंगलबार पहिलो पटक गृहजिल्ला आएकी रेग्मीले पत्रकारहरुसँग कुराकानी गर्दै एमालेका कारण अध्यादेश निश्क्रिय भएको आरोप लगाइन् ।

महिलामाथि तेजाब आक्रमणका घटना बढ्दै गएपछि केपी ओलीको सरकारले यो अध्यादेश जारी गरेको थियो । ‘अध्यादेश रद्द भएको होइन, एमालेले सदन घेरिरहेको छ । सदन सहज छैन । त्यसैले गर्दा पारित गर्न नसकिएको हो । अलिकति सदन सहज हुने बित्तिकै सरकारले यो अध्यादेशलाई सक्रिय बनाउँछ’, उनले भनिन् ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्ने अध्यादेश र यौन हिंसाविरुद्धको केहि ऐनलाई संशोधन गर्ने अध्यादेश निश्क्रिय भएको हो । केपी ओलीको सरकारले जारी गरेको उक्त अध्यादेश संसदबाट समयमै पारित नभएपछि अध्यादेश निश्क्रिय भएको हो । अध्यादेशमा पीडकलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था थियो ।

फरक प्रसंगमा बोल्दै नेपाली कांग्रेसकी नेतृ समेत रहेकी रेग्मीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबोलमै पार्टी सभापतिले सरकारमा जाने निर्णय गरेको बताइन् । अधिबेशन लागेको भएर वरिष्ठ नेता पौडेलले अहिले आएर पार्टी सभापतिमा सत्ताकोे लोभ देखेको उनले बताइन् ।

उद्योग मन्त्रीमा गजेन्द्र हमाललाई गरेको नियुक्तिको विषयमा पनि उनले पार्टी सभापति देउवाको बचाउ गरिन् । हमाल कांग्रेसकै पुराना नेता भएकाले छ महिनाका लागि नियुक्त गरिएको र त्यसमा कुनै सेटिङ नभएको दाबी गरिन् । यद्यपी आलोचना भएपछि हमालले मन्त्रीबाट राजिनामा दिएर स्वाभिमान देखाएको बताइन् ।

गृह जिल्ला आएकी मन्त्री रेग्मीलाई कांग्रेसका नेता कार्यकर्ताहरुले बाजागाजासहित धुमधामसँग स्वागत गरेका थिए । मन्त्रीलाई स्वागत गर्न विमानस्थलभित्रै भिड लागेको थियो । नेता कार्यकर्ताहरुले पुष्प गुच्छा र खादा ओढाएर स्वागत गरेका हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार १५:०३