७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

गाउँकै छुर्पी उद्योगमा दूध खपत, प्रतिलिटर ६ रुपैयाँ थप पाउँदै किसान


-प्रकाश पाक्साँवा

२४ असोज, तेह्रथुम । तेह्रथुमकाे पश्चिमी क्षेत्रका किसानहरू गाउँमै स्थापना भएको छुर्पी उद्योगमा दूध खपत हुन थालेपछि वर्षाैको समस्याबाट मुक्त भएका छन् । लिल्लाको लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका गाउँ गाउँमा दुध खपत हुन थालेपछि यहाँका किसानहरू दूध खपत नहुने समस्याबाट मुक्त भएका हुन् ।

गाउँमा उद्योग नहुदा जिल्ला बाहिर धरान, विराटनगरलगायतका स्थानमा निर्यात गर्दै आएका किसानलाई अहिले गाउँमै दूध खपत हुँदा सजिलाे भएकाे हाे । दूध संकलन केन्द्रहरूमा दैनिक विद्युत आपुर्ती नहुँदा समस्या हुने गर्दथ्याे। बर्खायामा सडम हिलाम्मे हुँदा दूध ढुवानीमा झन समस्या हुने गर्दथ्याे ।

दूध बिक्रीबाट राम्रो आम्दानी लिँदै आएका यस क्षेत्रका किसानहरूलाई उद्योग स्थापनाले थप हौसिला मिलेको स्थानीय भुपाल बुढाथोकीले बताए । निजी तथा सहकारी संस्थाहरूले छुर्पी उद्योगहरु स्थापना गरी दूध खपत गर्दै आएका छन् । किसानहरूले पाउँदै आएको दूधको मुल्यमा थप ६ रुपैयाँ पाउने भएका छन् ।

दूधको गुणस्तरको आधारमा प्रतिलिटर ४२ रुपैयाँदेखि ६० रुपैयाँ पाउँदै आएका किसानले अब ४८ रुपैयाँदेखि ६६ रुपैयाँ पाउने भएको छथर दूग्ध सहकारी संस्थाका व्यवस्थापक लोकेन्द्र बुढाथोकीले बताए । गाउँमा स्थापना भएको छुर्पी उद्योगमा दूध बिक्री हुन थालेपिछ दूध बिक्री गर्न र परिवार धान्नसमेत सहज भएको छ ।

यहाँ स्थापना भएका उद्योगहरूले घ्यू, छुर्पी,पनिरलगायत उत्पादन गर्दै आएका छन् । उद्योग बाहिर दूध बिक्री गर्दा ढुवानी र विद्युतमा खर्च हुने गरेको भए पनि किसानले राम्रो मुल्य पाएका थिएनन् । आफ्नै उद्योगमा दूध खपत गर्न थालेपछि किसानलाई सजिलाे भएको बुढाथोकीको भनाइ छ ।

किसानले थप मुल्य मात्र पाएका छैनन् यहाँका युवाहरूले पनि रोजगारी पाउन थालेका छन् । रोजगारको लागि भौतारीरहेका युवाहरू गाउँमा स्थापना भएका उद्योगहरूमा काम गर्दै आएका छन् ।

यहाँका किसानले परम्परागत रुपमा पाल्दै आएको गाई पालनलाई व्यावसायीक बनाउन थालेका छन् । प्रतिकिसान पाँच लिटरदेखि ४० लिटर सम्म दूध उत्पादन गर्दै आएका छन् । किसानहरूलाई थप व्यावसायीक बनाउन दूग्ध उत्पादक जिल्ला सहकारी संंघ तेह्रथुमले विधिन्न तहका सरकारको सहकार्यमा कार्यक्रमहरू गर्दै आएको संघका अध्यक्ष बुद्धीमान खुलालले बताए।

यहाँका किसानले जर्सी, होलेस्टेनलगायत उन्नत जातका गाई पाल्दै आएका छन् । दूध बिक्रीबाट प्रतिकिसानले वार्षिक एकदेखि पाँच लाख रुपैयाँ लिँदै आएका छन् । दुग्ध व्यवसायलाई थप व्यवस्थित बनाउँदै लैजाने हो भने किसानको जीवनस्तर उकास्न टेवा पुग्ने बुढाथाेकीले बताए । न्युज कारखाना

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार ०८:२५