१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

श्रष्टा श्रीराम राईको बाल कथासंग्रह ‘पोलेको मकै’ बजारमा


२३ असोज, खोटाङ । खोटाङका श्रष्टा श्रीराम राईको बाल कथासंग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा स्थायी ठेगाना भएका श्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो । १० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बाल कथा संग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलुन्, चरी उडुन्, पारुको पढाई’ लगायत ७ कथा समावेश छन् ।

‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ । बाल कथा संग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामुलक र उत्तिकै रमाइला लाग्ने कथाकार राईले बताए । हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैयाँ पर्छ । सर्जक गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको संग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन् ।

श्रष्टा राईका यसअघि बाल कथा संग्रह ‘टोली नेता’ २०७५, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृति प्रकाशित भइसकेका छन् । विशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाईकु, मुक्तक, गीत, गजल र कवितामा पनि उत्तिकै सशक्त छन् । रावासावा प्राज्ञिक समाज नेपालका सदस्य रहेका राई संसाक भवानी–शंकर लघुकथा सम्मान, इडन ब्रिज एकेडेमी बाल साहित्य÷पत्रकारिता सम्मान लगायतबाट सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार २१:२४