८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ल्याप्चे लगाउने जनतालाई साक्षर बनाउँदै नरैनापुर


-रुद्र सुवेदी

२३ असोज, नेपालगञ्ज । धान बाली काट्ने र भित्र्याउने कामको चटारो सुरु हुनै लाग्दा नरैनापुर–६ का सुकाइ यादव आजभोलि थोरै समय भए पनि पढ्न र लेख्नका लागि छुट्ट्याउन । ५० वर्ष नाघिसकेका उनलाई यसअघि कहिल्यै पढ्ने र लेख्ने कुरामा चासो थिएन ।

जीवनको सबै समय खेतीपाती र घरधन्दामा खर्चेका उनी ल्याप्चे लगाउनेलाई पालिकाद्वारा सुविधा रोक्ने डरले आजभोलि समय निकालेर पढ्न–लेख्न सिक्दैछन् । उनलाई अचेल पढ्न–लेख्न पनि जान्नु आवश्यक रहेछ भन्ने लागेको छ ।

नरैनापुर–६ कै ७० वर्षीया रामकुमारी यादवका आँखाले भर दिन छोडेका छन् । अलि परको मान्छे चिन्न अलि गाह्रो हुन्छ । तर, पनि उनी अक्षर चिन्नको लागि प्रयास गर्दै आएकी छन् । अहिलेसम्म पनि हस्ताक्षरको ठाउँमा औंठा छाप लगाउने उनलाई आफ्नो हस्ताक्षर गर्ने ठूलो रहर छ । ‘लेख्न सिकेपछि भने औंठाको छाप भन्दा पनि हस्ताक्षर नै गर्छु,’ प्रफुल्ल हुँदै उनले भनिन् । उनले आफूले कहिल्यै नसोचेको विषयमा गाउँपालिकाले सोचेर पढाउँदा उत्साहित भएको बताइन् ।

पछिल्लो समय नरैनापुर गाँउपालिकाले आफ्ना जनतालाई साक्षर बनाउने अभियान थालेपछि नरैनापुर–५ जमुनीकी ३५ वर्षकी तारादेवी यादवलाई पनि आफ्नो नाम मात्रै भए पनि लेख्न सिक्ने उत्साह जागेको छ । उसो त गाउँपालिकाले अब उप्रान्त ल्याप्चे लगाउनेलाई कुनै पनि सेवा सुविधा नदिने सन्देश प्रवाह गरेपछि उनलाई झन् ढिलै भए पनि पढ्ने इच्छा जागेको हो ।

नरैनापुर–५ की आइती बोहराले गाउँपालिकाले ल्याप्चे लगाउनेलाई वृद्ध भत्ता र अरू सुविधा नदिने भनेपछि साक्षरता कक्षामा सहभागी भएको बताइन् । उनले भनिन्, ‘सानो उमेरमा दाइ र भाइलाई पढ्न पठाउँदा आफूलाई पनि पढ्न जान मन लागे पनि बाख्रा गोठालो पठाएर पढ्ने अवसरबाट अभिभावकले वञ्चित गरे । अहिले भने गाउँपालिकाले आफ्नो नाम लेख्ने बनाउने गरी पढाउन थालेको छ । हाम्रा लागि यो खुसीको कुरा हो ।’

माथिका सुकाइ यादव, रामकुमारी, तारादेवी र आइती बोहराका त प्रतिनिधि पात्र मात्र हुन् । यतिबेला उनीहरू जस्तै नरैनापुरका ६ वटै वडाका नौ हजार पाँच सय १८ जना साक्षरता कक्षामा पढ्न लेख्न सिकी रहेका छन् । गाउँपालिकाले आगामी मंसिर महिनाभित्र पालिकालाई पूर्ण साक्षर पालिका घोषणाको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

‘पालिकाले अभियानको रूपमा साक्षरता कक्षा सञ्चालन गरेपछि अहिलेसम्म पढाइलेखाइमा चासो नदिएका स्थानीय बिस्तारै साक्षरतातर्फ आकर्षित हुन थालेको पाएका छौ,’ उनले भने ।

गाँउपालिकाले पनि उनीहरूलाई साक्षर बनाउनका लागि विभिन्न क्रियाकलाप गरिरहेको छ । पालिकाले गत जेठ मसान्तभित्र पालिकालाई साक्षर घोषणा गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण केही समय पर धकेलिएको पालिकाका शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले बताए ।

उनले साक्षरता अभियानलाई सफल बनाउनको लागि पालिकामा रहेका विद्यालयलाई केन्द्र मानेर प्रत्येक विद्यालयको कार्य क्षेत्रभित्रका निरक्षरलाई साक्षर बनाउनको लागि शिक्षक, कर्मचारी, तथा अन्य शिक्षित व्यक्तिलाई परिचालन गरिएको बताए । यसका लागि एकव्यक्ति साक्षर बनाउँदा सहयोगी शिक्षक वा सहजकर्ताले ३ सय पाउने गरी सुविधासमेत तोकिएको जानकारी दिए ।

नरैनापुर गाउँपालिकाका ३४ हजार व्यक्तिमा गरिएको अनुसन्धानमा १५ देखि ६० वर्षका ९ हजार ५ सय १८ जना अझै पनि निरक्षर रहेको गाउँपालिकाको तथ्याङ्कमा छ । नरैनापुरमा २१ वटा सामुदायिक विद्यालय, २६ वटा मदरसा र ३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

यी मध्ये आधारभूत तह कक्षा ८ सम्म सञ्चालन भएका विद्यालय ४, माध्यमिक तह कक्षा १० सम्म सञ्चालन भएका ३ वटा, कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय १ वटा विद्यालय रहेका छन् । ४२ वटा विद्यालय र मदरसा प्रावि तहका सञ्चालनमा रहेका छन् । न्युज कारखाना

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार २१:०५