१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

अलैँचीको व्यापार भारतबाहेकका देशमा विस्तार गर्न मुस्किल


१९ असोज, झापा । नेपालमा उत्पादन भएको अलैँची भारतबाहेकका देशमा विस्तार गर्न मुस्किल भएको छ । नेपालमा उत्पादन हुने अलैँचीको व्यापार भारतमा निर्भर हुँदा मूल्य निरन्तर ओरालो लाग्ने अवस्था छ । कुनै समय एक लाख २० हजार रुपेयाँसम्म प्रतिमन मूल्य रहेको अलैँची निरन्तर ओरालो लाग्दै २२ हजार रपैयाँसम्म पुगेको थियो । यस वर्ष सुधार भएर प्रतिमन ४० देखि ४२ हजार रुपैयाँसम्म पुगेको छ ।

यस पटक मूल्य बढ्नुको कारण नेपालमा अलैँचीको उत्पादन घट्नु हो । यस पटक प्रतिकूल मौसम र अलैँचीको गानोमा रोग लागेका कारण उत्पादन घटेको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ । ‘यस पटक हाम्रोमा पनि ४० प्रतिशतभन्दा धेरै उत्पादन घटेको छ । भारत र भुटानमा पनि उत्पादन घटेको छ’, महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराईले भने, ‘असमको अलैँचीले हामीलाई सबैभन्दा धेरै असर गर्थ्यो । तर, त्यहाँ पनि उत्पादन घटेपछि अलैँचीको मूल्य बढेको छ । लामो समयपछि यो मूल्यमा आइपुगेको हो ।’

यसको कारण अलैँचीको व्यापारमा भारतको एकाधिकार हुनु हो । भारतमा अलैँचीको सट्टा त्यहीँको सुकमेलले बजार पाएको छ, जसका कारण नेपाली अलैँचीको मूल्य निरन्तर खस्कँदो छ । नेपालको कुल उत्पादनको ९० प्रतिशत अलैँची भारत जान्छ । नेपालको ४३ जिल्लामा अलैँची उत्पादन हुँदै आएको छ । अलैँचीको राजधानी झापाको बिर्तामोडलाई मानिँदै आएको छ ।

नेपालको अलैँची पूर्वी नाका काँकडभिट्टाबाट मात्र निर्यात हुने गरेको छ । पूर्वी नाकाबाट निर्यात हुने नेपाली उत्पादनको ५० प्रतिशतभन्दा धेरै हिस्सा अलैँचीले ओगट्छ । तर, अलैँचीको व्यापार विस्तार गर्न नसक्दा किसान र व्यवसायी मर्कामा परेको अलैँची व्यवसायी महासंघले जनाएको छ ।

बंगलादेशमा नेपाली अलैँचीको भन्सार शुल्क ७० प्रतिशतसम्म हुँदा निर्यात हुन सकेको छैन । ‘बंगलादेशमा भन्सार शुल्क महँगो छ । अलैँचीमा भारतको एकाधिकार छ’, महासंघका अध्यक्ष राजकुमार कार्कीले भने, ‘बंगलादेशको भन्सार शुल्क घटाउन पहल गर्न सरकारलाई धेरै आग्रह गर्‍यौँ तर राज्यले माग सम्बोधन गर्न सकेन ।’

अन्य देशसँगको व्यापारमा पनि समस्या रहेको अध्यक्ष कार्कीले बताए । नेपाली अलैँची यूएईसम्म जाने गरेको छ । हवाई मार्गमार्फत कहिलेकाहीँ अलैँची यूएई जाने भए पनि हवाई भाडा महँगो हुँदा समस्या भएको उनी बताउँछन् । यस्तै, समुद्रपारको व्यापारमा पनि समस्या छ । नेपालले समुद्रपार व्यापारका लागि भारतको कोलकातास्थित हल्दिया बन्दरगाह प्रयोग गर्नुपर्छ । तर, समयमा पानीजहाज नआउँदा भारतबाहेकका देशमा अलैँची लैजान मुस्किल हुने गरेको अध्यक्ष र्काीले बताए ।

नेपाली अलैँचीले पाकिस्तानमा पनि व्यापारको ट्रेडमार्क पाएको महासंघ अध्यक्ष कार्कीले बताए । तर, हल्दिया बन्दरगाहमा समयमा पानीजहाज नआउँदा व्यापार गर्न नसकिएको उनले बताए ।

‘पाकिस्तानका लागि ट्रेडमार्क पाए पनि हल्दिया पोर्टबाट लैजान समस्या भइरहेको छ । हामीलाई बम्बई पोर्ट भए अन्य देशमा पनि व्यापार गर्न सहज हुने थियो’, उनले भने, ‘वाणिज्य मन्त्रालयलाई पत्र लेखेका थियौँ । सरकारले यति पहल गरिदिए यूएई र पाकिस्तान लैजान सकिन्थ्यो । अहिले त त्यो पनि संभव भएन ।’

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १४:१०