१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

लुम्बिनीका व्यवसायीको गुनासाेः सरकारले पर्यटन प्रवर्द्धनमा सहयोग गरेन


१४ असोज, बुटवल । पर्यटन व्यवसायीले सरकारले पर्यटन प्रवर्द्धनलाई सहयोग पुग्ने गरी कुनै कार्यक्रम ल्याउन नसकेको बताएका छन् । लुम्बिनी भ्रमणका लागि आएको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीसँग व्यवसायीले आफूहरु समस्यै समस्याबाट गुज्रिरहेको भए पनि सरकारबाट सेवासुविधा पाउन नसकेकोसमेत गुनासो गरे ।

लुम्बिनीका पर्यटन व्यवसायी तथा लुम्बिनी होटल संघका उपाध्यक्ष मेघनाथ आचार्यले लुम्बिनीमा पर्यटक नआउँदा होटलहरु बन्द गरेर बसेजस्तो अनुभुति भएको बताए । उनले भैरहवा–लुम्बिनी चार लेन सडकखण्ड अन्तर्गत बेथरी र दानव नदीमा निर्माणाधीन पुल निर्माण सम्पन्न नहुँदा घण्टौँसम्म सवारीसाधन जाममा पर्दा पनि पर्यटकहरू सहज रूपमा लुम्बिनी पुग्न समस्या भएको बताए ।

‘पुल निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न माग गर्दै प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायौं, तर मागको सुनुवाइ भएन, पप्पु कन्स्ट्रक्सनले चारवटा पिलर बनाएर विगत ६–७ वर्षदेखि पुल अलपत्र पारेको छ’, उनले भने ।

अग्रज पत्रकार चेतन पन्तले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अझ तीव्र गतिमा लैजान सरकारले तदारूकता नदेखाएको गुनासो गरे । उनले ‘लाइफलाइन एयरपोर्ट’ को रूपमा रहेको विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण आवश्यक रहेको र विमानस्थलमा एडीबी थप लगानी गर्नसमेत तयार रहेको बताए ।

लुम्बिनीका होटल व्यवसायी अकरम खानले लुम्बिनीमा कुनै पर्यटक एक दिन बसे पनि त्यो ठूलो कुरा भएको बताए । ‘बिहारमै पर्यटक बस्दा बाहिर रहेका होटल व्यवसाय धरासायी भएको छ’, उनले भने ।

पर्यटन व्यवसायी रामबहादुर कोइरीले छिटोभन्दा छिटो नाका सहज रूपमा सञ्चालनमा ल्याउनुपर्ने माग गरे । उनले नाकामा सहज रूपमा आवातजावत हुन नसक्दा हालै सञ्चालनमा आएका नयाँ होटलहरू बढी मारमा परेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले कोभिड–१९ का कारण पर्यटन क्षेत्र प्रभावित भएको बताउँदै राति ८ बजे नै पसल/होटल बन्द गर भनेर पर्यटनको प्रवर्द्धन हुन्छ ? भन्दै प्रश्न गरे ।

अध्यक्ष न्यौपानले कम्तिमा राति १२ बजेसम्म होटल तथा व्यवसाय सञ्चालन हुनुपर्ने बताए । सिद्धार्थ होटल एसाेसिएसनका उपाध्यक्ष किशोर जोशीले अहिलेको अवस्था हेर्दा एक वर्षसम्म विदेशी पर्यटक आउने सम्भावना कम रहेकाले भारतीय पर्यटकले प्राथमिकता पाउनुपर्ने बताए ।

सिद्धार्थ होटल एसाेसिएसन (सान) का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले प्रत्येक वर्ष अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा व्यावसायीका लागि विभिन्न सेवासुविधा ल्यायौं भने पनि त्यो भाषणमा मात्रै सीमित भएको बताए ।

व्यवसायीका विभिन्न समस्याहरूबारे जानकारी लिएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरूले सरकारले व्यावसायीको आवाज सुनेर सम्बोधन गर्नुपर्ने बताएका थिए । प्रतिनिधिसभा सदस्य पुष्पाकुमारी कर्णले गौतमबुद्धको जीवनीसँग जोडेर यहाँको समाजको चित्रण हुने गरी संग्रहालय बनाउनुपर्ने बताइन् ।

सांसद मोहन बानियाँले पर्यटकलाई भुल्ने वातावरण बनाउनुपर्ने बताउँदै वर्तमान सरकार व्यवसायीका माग सुन्ने पक्षमा नरहेको दावी गरे । सांसद रेनुका गुरुङले सदनमा पर्यटन व्यवसायीका कुरा उठाउने बताइन् । उनले एउटा पर्यटक आउँदा १० वटा थप पर्यटक नेपाल आउने वातावरण बनाउन रणनीति बनाउनुपर्ने बताइन् । सांसद नारदमुनी रानाले हरेक क्षेत्र अगाडि बढाउन राजनीतिक स्थिरता आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १२:००