७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गाईखुरे झरनामा आन्तरिक पर्यटकको भीड


११ असोज, लमजुङ । डुम्रे-बेँसीशहर सडकखण्डको छेउमै पर्ने बेँसीशहर नगरपालिकाको उदीपुरमा रहेको गाईखुरे झरनामा रम्नेको अहिले भीड देख्न सकिन्छ । पौडी खेल्न र नुहाउन मात्र होइन, साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ- गाईखुरे झरना ।

चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बीर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । हेर्दै सिरिङ्ग हुने झरना । कलकल बगेको पानीले झरनालाई थप सुन्दरता दिएको छ । त्यही सुन्दरता र मनोरम प्रकृतिलाई चुम्न युवायुवतीको लर्को लाग्न थालेको छ ।

बेलाबेलामा यस झरनामा ‘क्यानोनिङ’समेत संचालन हुने गरेको छ । बर्खाको समयमा मात्र ठूलो हुने गाईखुरे झरनामा कोही पौडी खेल्न, कोही नुहाउन त कोही क्यानोनिङको मज्जा लिन धाइरहेका छन् । पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुसी भएको बेँशीसहरकी सुस्मिता थापाले बताइन् ।

आन्तरिक पर्यटक बढे

डुम्रे-बेँसीशहर सडकखण्डअन्तर्गत उदीपुरको गाईखुरे झरनामा आन्तरिक पर्यटकको भीड बढेको छ । वर्षातको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो । विशेषगरी बिदाको दिन झरना हेर्न, झरनामा भिज्न जानेहरूको निकै भीड लाग्ने गरेको छ ।

हप्ताभरि काममा व्यस्त हुनेहरू बिदाको दिन झरनामा पुगेर थकाइ मेटाउने गर्न थालेका छन् । कतिपय त दिनभरको थकाइ मेटाउन साँझपख झर्नामा पुग्ने गर्छन् । सडक छेउमै भएकाले कतिपयले सवारी रोकेर नै झरनाको अवलोकन गर्ने गरेका छन् ।

झरनामा सदरमुकाम बेँसीशहरसहित उदीपुर, भोटेओडार, सुन्दरबजारलगायतका ठाउँबाट मनोरंजनका लागि आन्तरिक पर्यटकहरू आउने गर्छन् ।

बर्खामा टनाटन, हिउँदमा सुनसान

वर्षायाममा झरना हेर्न र रमाउन पुग्नेहरूको भीड लागे पनि हिउँदमा भने झरना सुनसान जस्तै हुन्छ । किनभने हिउँदमा झरनामा पानी हुँदैन । तर, नजिकै बगेको मर्स्याङ्दीको पानीलाई मोटरले तानेर झरनाबाट झार्न सके बाह्रै महिना पर्यटकलाई झरनासम्म तान्न सकिने पर्यटन व्यवसायी रामकुमार श्रेष्ठ बताउँछन् ।

प्रभावकारी व्यस्थापनको खाँचो

डुम्रे-बेँसीशहर सडकमार्गको छेउमै पर्छ गाईखुरे झरना । मध्यमर्स्याङ्दीको बाँधस्थल आडैमा छ । मनोरम र शान्त वातावरण छ । पर्यटनको प्रचुर संभावना पनि छ तर जिल्लामा पर्यटनको क्षेत्रमा सरकारी तथा गैरसकारी संस्थाको लगानी बढ्दै गए पनि गाईखुरे झरनाको व्यवस्थापनमा कसैले चासो नदिएको स्थानीयबासीहरूको गुनासो छ । थोरै मात्र लगानी गर्न सकिए पनि उक्त क्षेत्र पर्यटकको राम्रो गन्तव्य बन्न सक्ने लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल बताउँछन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १६:०४