१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

विश्व पर्यटन दिवसः लुम्बिनीमा विभिन्न कार्यक्रम, आन्तरिक पर्यटनलाई प्राथमिकता दिन माग


११ असोज, बुटवल । ४२औं विश्व पर्यटन दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार विभिन्न कार्यक्रम गरिएको छ । लुम्बिनी विकास कोषको आयोजना तथा लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ लुम्बिनी, वृहत्तर लुम्बिनी क्षेत्र स्थानीय पथ प्रदर्शक संस्था लुम्बिनी, महामाया रिक्सा चालक संघ लुम्बिनी र लुम्बिनी विकास मञ्च लुम्बिनीको सहयोगमा कार्यक्रम गरिएको हो ।

सोमबार बेलुन उडान तथा दीप प्रज्वलन, मायादेवी मन्दिरमा पूजा तथा ध्यान, डुंगा शयर, बिहार तथा मन्दिर अवलोकन, प्रकृति फोटोग्राफी कार्यशाला लगायतका कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । उनले यस वर्ष पर्यटन दिवस संक्षिप्त कार्यक्रम गरी मनाइएको बताए ।

उनले पर्यटन सबैभन्दा ठूलो उद्योग भएको र यो क्षेत्रले धेरै रोजगारीको अवसर सिर्जना गरेको बताए । पर्यटन दिवस पर्यटन व्यवसायीका लागि महत्वपूर्ण पर्व हो,’ उनले भने । कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले कोभिड–१९ का कारण संसारभर पर्यटन क्षेत्र प्रभावित भएको बताए ।

उनले करिब एक वर्षसम्म अन्तर्राष्ट्रिय पर्यटक अपेक्षित रुपमा आउन नसक्ने जस्तो देखिएकोले आन्तरिक पर्यटनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । ‘तीन करोड नेपालीमध्ये एक करोड नेपाली लुम्बिनी, कपिलवस्तु, रामग्राम, देवदह आए पनि यसले निश्चय नै पर्यटन प्रबद्र्धनमा टेवा पुर्‍याउँछ,’ उनले भने ।

लुम्बिनी जाऔं मात्र भनेर नहुने भएकाले लुम्बिनीका गहकिला विषयमा कलम चलाउन सञ्चारमाध्यमलाई उनले आग्रह गरे । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य विश्वमा शान्तिको सन्देश फैलाउने भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको आफ्नै महत्व रहेको बताए । उनले भने, ‘बुद्ध भगवानलाई मनमा राख्नुहोस् ।’

नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले लुम्बिनीलाई उचाईमा पुर्‍याउने विन्दुमा पुगिएको बताए । यसबीच विश्व पर्यटन दिवसको अवसरमा लायन्स क्लब अफ लुम्बिनी ग्रीन सिटीले लुम्बिनीमा सरसफाई कार्यक्रम गरेको क्लबका अध्यक्ष चन्द्रकेश गुप्ताले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १५:३५