७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपालले आधुनिक विश्वमा पर्यटकीय गन्तव्यको पहिचान यसरी पायो


-कृष्ण उप्रेती

११ असोज, काठमाडाैँ । आज २७ सेप्टेम्बर । अर्थात् विश्व पर्यटन दिवस । सन् १९८० देखि यस दिनलाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदै आइएको छ ।

विश्व पर्यटन संगठनलाई संयुक्त राष्ट्रसंघले सन् १९७० मा यसै दिन अपनाएको दिनलाई मानेर सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवस मनाइएको हो ।

विश्वको सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक मूल्यका साथै दिगो विकासका लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रले गर्न सक्ने योगदान र यस विषयमा जागरूकता बढाउन विश्वव्यापी रुपमा पर्यटन दिवस मनाइन्छ ।

‘समावेशी विकासको लागी पर्यटन’ भन्ने मूल नाराकासाथ यसपालिको विश्व पर्यटन दिवस मनाइँदैछ । यस बर्षको आधिकारिक उत्सव भने आइभरी कोष्ट अर्थात् ‘कोटे डी आइवर’मा हुँदैछ ।

पर्यटनको इतिहासमा सबैभन्दा ठूलो संकट बनेर आएको कोभिड-१९ ले विश्वको पर्यटन क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यसले विश्वको अर्थतन्त्रमा करीब चार खर्ब अमेरिकी डलर बराबरको नोक्सान गरेको संयुक्त राष्ट्र संघको प्रतिवेदनले देखाएको छ ।

हाम्रो पूर्वीय सभ्यतालाई हेर्ने हो भने पर्यटनको लामो इतिहास पाइन्छ । तैत्तिरियोपनिषद्मा बताइएको अतिथि देवो भवः भन्ने वाक्यांशले हाम्रो पर्यटन क्षेत्र र पर्यटनको संस्कारलाई स्पष्ट पारेको छ ।

तथापि सन् १९६० देखि मात्र आधुनिक विश्व समुदायका लागि नेपाल पर्यटकीय गन्तव्यको रुपमा चिनिएको हो । तर, सन् १९८१ मा त्रिभुवन विमानस्थल बनेपछि मात्र पर्यटकका लागि नेपालाको ढोका खुलेको थियो । सन् १९६० तिर हिप्पी आन्दोलन चरम सीमामा पुगेको बेला नेपालमा पर्यटक आफ्नै भ्यान, कार, बाइक लिएर हिप्पी अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल आउने गरेका थिए ।

विश्व पर्यटन क्षेत्रमा नेपाललाई एसियाभित्रको युरोप पनि भनिने गरिएको छ । यहाँको वातावरण, मौसम र रमणीय दृष्यले जोकोहीलाई पनि लठ्ठ बनाउछ । मरूभूमिदेखि हिमालसम्मको यात्रा नेपालमै हुने भएकाले पनि नेपाल पर्यटकको रोजाइमा पर्दै आएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा हुनुले पनि विश्व पर्यटन क्षेत्रमा नेपालको बेग्लै पहिचान बनेको छ । जुनसुकै मौसममा पनि नेपालको भ्रमण गर्न सकिने भएकाले नेपालको मौसममा रहेको विविधता पर्यटन क्षेत्रको लागि अर्को एउटा महत्वपूर्ण पाटो हो । न्युज कारखाना

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार ०७:२६