११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेपालको स्वास्थ्य अनुसन्धान गतिशिल बन्दैछः सदस्यसचिव डा ज्ञवाली


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीसँग नेपाल भैरहेको स्वास्थ्य अनुसन्धान लागयतका विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नेपालमा स्वास्थ्य अनुसन्धानको क्षेत्र गतिशील बन्न नसकेको भनिन्छ नि, के यो साँचो हो ?

जवसम्म अनुसन्धान गर्ने संस्कृति (रिसर्च कल्चर)को विकास हुँदैन, स्वतन्त्र रुपमा डाक्टर वा अरु मेडिकल प्रोफेसनललाई जबसम्म रिसर्चबाट पनि केही आउँछ है भन्ने अवस्था हुँदैन तवसम्म रिसर्च अगाडी बढ्दैन । नेपालको सन्दर्भमा पनि लामो समयदेखि चलेको विषय र बहस हो यो तर अव विस्तारै त्यसमा परिवर्तन हुँदैछ । नेपालको स्वास्थ्य अनुसन्धान गतिशील बन्दैछ र बनाउनका लागि अझ कस्सिएर लाग्नुपर्ने छ ।

स्वास्थ्य अनुसन्धानलाई अगाडी बढाउन के के गर्नु पर्छ जस्तो लाग्छ ?

मैले त के भन्छु भने अब सबै साईन्टीफिक कमिटिमा डाक्टर, नर्स तथा पारामेडिक्सहरु जस्ता हेल्थ प्रोफेसनलहरु आउनु पर्दछ । अनि त्यसलाई राज्यले पनि ग्रहण गर्नुपर्छ । त्यसो भयो भने डाक्टर पनि इन्स्टिच्युसनल प्राक्टिसमा आउँछन् । जस्तै डाक्टरले जुन इस्टिच्युसनमा प्राक्टिस गर्ने गरेको छ त्यहाँ रिसर्च युनिटहरु बनाईदिने । त्यहि नै रिसर्च क्लिनिकल ट्रायल तथा इन्टरभेन्सन स्टडीहरु गर्न मिल्ने बनाउने ।

यसो भयो भने एउटा त एकेडेमिक स्तरबृद्धि हुने भयो । पब्लिकेसन हुने भयो । बढुवा हुँदाका लागि चाहिने पेपरहरु पनि तयार हुने भयो । दोस्रो कुरा इन्सेन्टिप्सको हिसावले बाहिर धाउनु पनि परेन । यसले मेडिकल क्षेत्र पनि अघि बढछ भन्ने लाग्छ ।

यो यति सजिलै अघि बढ्न सक्ने देख्नुहुन्छ र ? कि तपाईँहरु यी विषयलाई अघि बढाउँदै हुनुहुन्छ ?

एउटा उत्कृष्ठ मेडिकल पर्सन बन्नका लागि क्लिनिकल प्राक्टिससंगै रिसर्च र एकेडेमिक स्कील जोडिएर आएकै हुनुपर्छ । अर्थात, उत्कृष्ठ भनिएको मेडिकल पर्सनसंग यी तीन चीजको अन्योन्यास्रित सम्वन्ध हुन्छ । यी तीनवटै चीज बराबर पाटो हो । मैले त भन्छु एकेडेमि जस्तै रिसर्च पनि छुट्टै एकेडेमी हो । यसले इन्नोभेसनमा जान र इन्स्टुमेन्ट बनाउन मद्धत गर्दछ ।

जस्तै : भनौँ न राष्ट्रिय आविस्कार केन्द्रले पीपीई बनायो, मास्कहरु बनायो । जतिवेला कोरोना महामारी सुुरु भएको थियो र यी सामग्रीहरुको चरम अभाव थियो । एउटा निश्चित कामका लागि जसरी नलेज, आइडिया, रोवर्स रिसर्च र इन्नोभेटिभ इन्भाइरोमेन्ट बनाईयो र गरियो त्यसले गज्जवको ‘आउटपूट’ दियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् यस्ता स्वास्थ्य क्षेत्रका लागि हुने यस्ता ‘इनोभेसन’ र ‘रिसर्च’का लागि सहयोग गर्न बसेको हो । हाम्रो काम सेन्टेफिक कमिटिलाई अझै उजागर गर्ने र उहाँहरुलाई बढी भन्दा बढी साइन्स डेभलप गर्ने त्यसबाट आएका तथ्यबाट राज्यलाई नीतिगत तहमा सहयोग गर्ने हो । त्यसैले विज्ञानलाई पहिलो प्राथमिकता दिनुपर्‍यो भन्ने हो । राज्यले पनि दिनुपर्छ, डाक्टर नर्स तथा स्वास्थ्यकर्मीहरुले पनि । यसलाई कल्चरको रुपमा विकास गरेर सबै बैज्ञानिक हुनुपरयो । इन्स्टिच्युसन रिसर्च गरेर त्यहाँबाट फण्ड जेनरेसन गर्नु पर्छ भन्ने पनि हो ।

कोरोना महामारीले के सिकायो ?

अस्पताल बेसमा रहेर पनि स्वास्थ्य क्षेत्रको धेरै अनुसन्धान गर्न सकिन्छ र यसरी गरिराख्नुपर्छ भन्ने सिकायो । यस्तै भ्याक्सिन/ड्रग ट्रायलको कुरा गरिरहँदा खोप भन्ने कुरा पनि त अनुसन्धानबाट मात्र नै सम्भव रहेछ भन्ने देखायो । त्यो नबनेको भए अहिले अवस्था कस्तो हुन्थ्यो कल्पना गरौँ त । त्यसैले मानिसको जीवन बचाउने कुरामा होस वा महामारी नियन्त्रणमा ल्याउने कुरामा स्वास्थ्य अनुसन्धान सबैभन्दा महत्वपूर्ण कार्य हो भन्ने पुष्टि गर्‍यो ।

अर्को कुरा, यसले अस्पताल बेस रिसर्चलाई लिएर अघि बढ्नु पर्छ भन्ने पनि सन्देश दियो । यसअघि धेरै जसो क्लिनिसियनहरु डाक्टरहरु विहान अस्पताल गयो दिनभरी प्राक्टिस गरयो बेलुका आयो सुत्यो मात्रै हुन्थ्यो । तर अब आफूले हेरेका विरामीहरुलाई इन्नोभेटिम इन्भाइरोमेन्टबाट रिसर्चमा ढाल्ने गरी जवसम्म प्राक्टिस हुँदैन तवसम्म नतिजा आउँदैन भन्ने भएको छ ।

अस्पतालहरुमा नयाँ नयाँ मेथोडोलोजीहरु, रिसर्चहरु निरन्तर जारी राख्नु पर्दो रहेछ भन्ने पनि सिकायो । नयाँ नयाँ रोगको उपचारका कुराहरु अथवा अस्पतालमा प्रयोग हुने डिभाईसहरु, भेन्टिलेटर, अक्सिजन कन्सनटे«टर मेसिनहरु, अनुसन्धानबाट आएका हुन् नि । महामारीले नेपालले पनि यस्ता बस्तुहरु उत्पादन गरी प्रयोग गर्न सक्छ भन्ने पनि सिकायो ।

महामारी अघि र पछि परिषद्ले गर्ने अनुसन्धानमा केही भिन्नता देखियो ?

परिवर्तन आएको छ । अब नेपालमा नविनतम अनुसन्धान (इन्नोभेटिभ रिसर्च)हरु हुन थालेको छ । मेडिकल रिसर्च जस्तो: भ्याक्सिन ट्रायलका कुराहरु, ड्रग ट्रायलका कुराहरुलाई राज्यले नीतिगत रुपमा सहज बनाईदिएको अवस्था छ । हामीले यतिवेला तेस्रो फेजको खोपको क्लिनिकल ट्रायल गर्न सक्छौँ । यसअघि यस्तो ट्रायल गर्ने कि नगर्ने भन्ने अलमल हुन्थ्यो । अव तेस्रो फेजको भ्याक्सिन ट्रायलका लागि राज्यले प्रक्रिया अघि बढाई सकेको छ ।

अहिले नेपालमा चिनियाँ तथा अमेरिकन कम्पनीसंगमिलेर तेस्रो फेजको भ्याक्सिन ट्रायल सुरु भएको छ । त्यसको नतिजा राम्रो आयो भने नेपालमै खोप उत्पादन सुरु गर्ने योजना छ । राज्यले बनाएको मापदण्डको बनाएको छ । अब भ्याक्सिन उत्पादन गर्नका लागि कति जग्गा चाहिन सक्छ ? भवन कस्तो बनाउने ? बाटो विजुलीका कुरा, टेक्नोलोजीका कुरा र उत्पादन भईसकेपछि राज्यले किन्दिन सक्ने नसक्ने कुरा अथवा टेक्नोलोजी ट्रान्सफर गर्नका लागि काम गर्ने कुरा अथवा त्यो टेक्नोलोजी ट्रान्सफर गर्दा रिसर्च गर्नका लागि एनएचआरसीलाई इम्पावर गर्ने कुराहरु स्पष्ट गरिएको छ ।

अव नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीहरुलाई धेरै सजिलो भएको छ । पब्लीक प्राईभेट पार्टनरसीपमा जाने भन्ने कुरा छ । यस्तै गरी ड्रगमा क्लिनिकल ट्रायल, ड्रग डेभलपमेन्टका कुराहरु अगाडी आएका छन् ।

पछिल्लो समय नेपालमा उत्पादन भएका जडिबुटीजन्य र औषधिजन्य वस्तुहरु, खनिज बस्तुहरु, त्यसलाई प्रसोधन गरी त्यसबाट निस्केको मोलिक्युललाई अब हामीले पेटेन्ट राईटको रुपमा प्रयोग गर्न सक्छौँ । नेपालमै त्यो उत्पादन गर्न सक्छौँ भन्ने पनि देखिएको छ । यसले हामीलाई उत्साहित बनाएको छ र सम्भव हुने समेत देखिएको छ । सयौ मोलिक्युल परीक्षण गरी एउटा मोलिक्युल तयार भयो भने त्यसले अन्तराष्ट्रिय बजार सजिलै ओगटन सक्छ र हामी अरब राष्ट्रले तेलबाट पैसा कमाएजसो गरी हामी औषधिबाट पैसा पनि कमाउनेछौँ ।

यो महामारी नेपालका लागि मात्रै होइन विश्वकै लागि नयाँ थियो, यस्तो बेलामा अनुसन्धान गर्ने संस्थाहरु जस्तै एनएचआरसीको भूमिका एकदमै महत्वपूर्ण हुन्छ, हामीले त्यो भूमिका कसरी निर्वाह गर्‍यौं ?

म एनएचआरसीको कार्यकारी सदस्य सचिव भएर आएको १८ महिना भयो । म आएको अर्को महिना पछि कोरोना महामारी सुरु भयो । सुरुमा किट प्रयोग गर्ने बेलामै मैले भनेको थिएँ, पहिले अनुसन्धान गरौँ र त्यसबाट आउने नतिजाको आधारमा मात्रै उपचारमा प्रयोग गर्ने कि नगर्ने भनेर निर्णय लिगौँ, अनुसन्धानले सर्भेलेन्सलाई ठिक छ, उपचारका भर पर्नु हुँदैन भन्ने देखायो । त्यसपछि राज्यले पनि त्यहि अनुसार नीति लियो । उपचारका लागि पीसीआरलाई नै अनिवार्य मानियो ।

स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर पनि कतिपय कामहरु हामीले गर्‍यौं । म संग त्यसबेला स्टाफ थिएनन । सबै ज्यालादारी स्टाफहरुले काम चलाउनुपर्ने थियो । तर विस्तारै करारमा मान्छे ल्याएर, तालिम र रिसर्च गराएर काम अघि बढाउदै लग्यौँ । त्यसैले त रेम्डेसिभिर जस्ता औषधीहरुको क्लिनिक रिसर्च गर्न सफल भयौँ । हामीलाई यसले के पनि शिक्षा दियो भने अनुसन्धानलाई अस्पतालका चिकित्सक नर्स तथा अन्य पारामेडिक्सहरुलाई जोडेर काम सक्यौँ भने स्वास्थ्यका अरु धेरै अनुसन्धान पनि गर्न सकिदो रहेछ । प्लाज्मा थेरापी गर्‍यौं ।

यसपछि थुप्रै क्लिनिसियनहरु हामीसंग आकर्षित पनि हुनु भएको छ । अनुसन्धानमा रुची देखाउनु भएको छ । अहिले हुँदा हुँदा अक्सफोर्ड विश्वविद्यालय हामीसंग जोडिन आई रिकभरी ट्रायल सम्वन्धी रिसर्चको काम भइरहेको छ । स्टेरोइड औषधि ‘लो डोज’मा भन्दा ‘हाइ डोज’मा चलाउँदा बढी प्रभावकारी हुने कुरा आएपछि हामीले त्यसको अनुसन्धान सुरु गरेका हौँ । यस्तो अनुसन्धान गर्ने पनि नेपाल एसियाकै पहिलो देश हो । यो बीचमा इन्टरनेशलन भ्याक्सिन इस्टिच्युटसंग पनि सम्झौँता गर्न सफल भएका छौँ । आईभीआई तथा सानोफी पास्चरको प्रायोजनमा तेस्रो फेजको ट्रायलका प्रक्रिया अगाडी बढेको छ ।

पछिल्लो पटक डव्लुएचओ सोलिडारिटी ट्रायलमा पनि हामी सहभागी भएका छौँ । त्यो केही दिन अघि मात्रै मन्त्रालयबाट पास भएको छ । होल जिनोमिक सिक्वेन्सिङमा काम गर्न गर्दैछौँ । हाम्रो काम देखेर यतिखेर अन्तराष्ट्रिय संस्थाहरु आकर्षित भएको अवस्था छ ।

यो बीचमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)सँग मिलेर अनुसन्धानमा लाग्ने भनेर सम्झौँता भईसकेको अवस्था छ । यसपछि अब हाम्रो भारतसंग हुने थुप्रै अनुसन्धानमा सहकार्य गर्न सकिन्छ । यो कुरा एक दुई बर्ष अघि भइदिएको भए आज भारतले खोप बनाईरहँदा हामीले पनि क्लिनिकल रिसर्चको काम लिएर खोप बनाईसक्ने अवस्थामा पुग्ने थियौँ । तर जे होस अब बाटो खुलेको छ ।

अस्पतालमा आधारित अनुसन्धानलाई अघि बढाउने र युवा बैज्ञानिकरुलाई प्रोत्साहन गर्ने नीति अघि बढाएका छौँ । यहिबीचमा परिषदको भौतिक संरचना देखि जनशक्ति व्यवस्थापन सम्बन्धी समेत काम अघि बढाएका छौँ । हामीले सातवटै प्रदेशमा शाखा विस्तार गर्दैछौँ । ततपश्चात प्रदेश तथा स्थानीय निकायमा हुने रिसर्चहरुलाई व्यवस्थित गर्दै रिसर्चमा एकरुपता कायम गरिनेछ । यसले रिसर्च व्यवस्थित हुनेछ ।

अनुसन्धानले महामारी व्यवस्थापनमा कतिको सहयोग गरेको छ ?

हामीले सुरुमै व्यक्तिले पालना गर्नुपर्ने कोभिडविरुद्धको मापदण्डको कति पालना भएको छ भनेर अनुसन्धान गर्‍यौं। त्यसको नतिजा सरकारलाई दियौँ । सरकारले तत्काल थप कदम चाल्यो । हाम्रै रिपोर्टका आधारमा कसरीअघि बढ्न सकिन्छ भनेर बाटो पैल्यायो । यसमा हामी खुशी हुनुपर्छ ।

ल्याव, कन्ट्याक्ट ट्रेसिङको पनि अध्ययन गर्‍यौं । अब हामीले खोपको सेफ्टी इफिकेसीको समेत अध्ययन गर्नुपर्छ अहिले लगाएको खोपले कहिलेसम्म काम गर्छ ? कहिलेसम्म एन्टीबोडी रहन्छ ? फेरी खोप लगाउन पर्ने हो कि होइन ? भनेर । यी सबैकुरा रिसर्चबाट नै सम्भव छ । परिवर्तन भन्ने कुरा अनुसन्धानले नै प्रमाणित गर्दछ ।

अब अनुसन्धानबाट आएका प्रतिवेदनको आधारमा राज्यले नीति तय गर्नुपर्छ । हाम्रो अनुसन्धानको प्रतिवेदनले सरकारलाई महामारी व्यवस्थापनका लागि नीतिगत निर्णय लिन सजिलो भएको छ ।

महामारीले आविश्कारको क्षेत्रमा कत्तिको पाठ सिकायो ?

एकदमै राम्रो सिकायो । एउटा उदाहरण दिन चाहन्छु, उद्योग मन्त्रालयमा एक पटक पटक मिटिङ बस्यो, मेडिकल काउन्सिलले पनि लिडरसीप लियो तर नीतिगत अभावका कारण डिभाईर र मेडिकल इक्वीपमेन्टको ट्रायल हुन पाएन । एक जनाले एम्बो व्याग मेसिन बनाएको रहेछ तर हामीले नीतिगत अभावका कारण अनुसन्धान गर्न सकेनौँ । त्यतिवेला हामीलाई टेक्निकल र नीतिगत समस्या थियो ।

भेन्टिलेटर आदिको अनुसन्धान हुन सकेन । अब त्यो समस्या छैन् । अब कुनै पनि डिभाईस ट्रायल गर्दा वा यहाँ ल्याउँदा वा नेपालले नै सामान उत्पादन गर्दछ भने हामीले नै ट्रायल गर्न सक्छौँ । अब स्वास्थ्य सम्वन्धी रिसर्च गर्न चाहनेका लागि परिषद सहयोगी नै भएर काम गर्दछ । अव खोप उत्पादनको प्रक्रिया मन्त्रिपरिषदले निर्णय गरेपछि ड्रग तथा डिभाईस नेपालमै उत्पादन र प्रयोगको प्रक्रिया सुरु भएको छ । यसलाई अगाडी बढाएका छौँ । यो पनि नेपालको स्वास्थ्य अनुसन्धानको क्षेत्रमा माइलस्टोन हो ।  नेपालीहेल्थसँगको सहकार्य 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार १२:४५