४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

एमाले नुवाकोट जेठ २ मा फर्कियो, कोषाध्यक्षमा काशिराज अधिकारी चयन


२ असोज, नुवाकोट । नेकपा एमाले नुवाकोट पार्टी केन्द्रको सहमति अनुसार जेठ २ मा फर्किएको छ । शनिबार नेकपा एमाले नुवाकोटको १७ औँ बैठक मार्फत पुरानै अवस्थामा फर्किएको हो ।

यसअघि अध्यक्ष एवं सांसद नारायणप्रसाद खतिवडा र सचिव बुद्धि प्रधान पार्टीको मुल गतिबिधि छाडेर सरकार र एमालेकै विरूद्धको गतिबिधिमा सहभागी भएपछि बृहत जिल्ला भेलाले तत्कालीन उपाध्यक्ष एवं बागमती प्रदेशका कृषि राज्यमन्त्री बद्री मैनालीको अध्यक्षतामा खतिवडाहरूसहितको नयाँ कमिटी गठन गरेर करिब ६ महिना पार्टीको गतिबिधि सञ्चालन गरेको थियो ।

जुन कमिटीको सचिवमा काशिराज अधिकारी रहेका थिए । शनिबारको पुरानै कार्यसमितिको बैठकले सचिव अधिकारीलाई कोषाध्यक्षको जिम्मेवारीमा मनोननयन गरेको राज्यमन्त्री समेत रहेका उपाध्यक्ष मैनालीले जानकारी दिए ।

बैठकले यसअघि समानान्तर गतिबिधिका नाममा भएका र बनेका कमिटीहरूको स्वामित्व लिँदै व्यवस्थापनका लागि एउटा कार्यदल गठन समेत गरेको छ । बैठकले असोज २५ भित्र सबै पार्टी सदस्यता नविकरणको काम सक्ने निर्णय पनि गरेको छ । बैठकले असोज १२ गतेभित्र सबै वडा र पालिकाको बैठक गर्ने र असोज १४ गते बृहत जिल्ला कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी केन्द्रिय कमिटीबाट जारी भयको अन्तरपार्टी निर्देशन -१२ र प्रदेश बाट जारि परिपत्र – १ बमोजिम जिल्ला कमिटी मातहत कमिटीको ब्यवस्थापन गर्ने निर्णय गरेको छ । साथै असोज १० गते भित्र कार्यदल ले जिल्ला कमिटी तथा मातहत कमिटिको व्यवस्थापन गरिसक्ने निर्णय पनि एमाले नुवाकोटले गरेको छ ।

बैठकमा नेकपा एमालेका केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा डा पुष्प कडेँल एमाले नुवाकोटका इन्चार्ज खेम लोहनी, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री केशवराज पाण्डे लगायतले सहभागीता जनाउँदै एमालेले १० बुँदे गरी पार्टीको आन्तरिक एकतामा अघि बढेको विषयमा प्रष्ट पार्दै भोलिका दिनका गर्नुपर्ने कामका बारेमा प्रशिक्षणमुलक निर्देशन दिएका थिए । एमालेको बैठक सचिव बुद्धि प्रधानले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार ०८:१०