१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मकालुकी कान्छीमाले ८० बर्षमा नागरिकता पाइन्


१ असोज, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ की कान्छीमा शेर्पाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमायाले मकालु गाउँपालिका–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौं दिनमा नेपाली नागरिक प्राप्त गरेकी हुन् ।

८० वर्षीया कान्छीमाले जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएकी छन् । नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने, श्रीमान र छोरी गुमाउनु भएकी कान्छीमालाई सरकारी सेवा सुविधाको बारेमा केही थाहा छैन । उनका झड्केलो छोरा नुर्वु शेर्पाले वडा कार्यालय पुगेर कागजपत्र तयार गरेर खाँदबारी आएका थिए ।

कागज पत्र तयार गरेपछि नुर्वुले शेर्पाले आमालाई लिएर जिल्ला प्रशासन कार्यालय खाँदबारी आए । नेपाली नागरिकले नैसर्गिक अधिकारको रुपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःख कष्ट भोगेकी कान्छीमाले लामो संघर्षपछि नागरिकता प्राप्त गरिन् । नागरिकता पाएपछि राज्यको तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षाभत्ता लगायत सेवा सुविधाबाट बन्चित हुनुपर्ने बाध्यता हटेको छ । कोही नभएका उनको नागरिकता बुढेसकालको सहारा बनेको छ ।

दुर्गम टासी गाउँमा भीर पहारा चहारेर दिनाचार्य बिताई रहेकी उनलाई गाउँका युवाहरुले बुढेसकालमा सामाजिक सुरक्षा भत्ता मात्रै भए पनि सहज हुने थियो भनेर आवश्यक पहल गर्न थाले । १० मंसिर १९९८ मा जन्मिएकी कान्छीमाले सोही गाउँमा तप्के शेर्पासँग ५ जेठ २०२६ मा विवाह गरेकी थिइन् । तर विवाह दर्ता लगायतका पञ्जिकरणका कुनै कामहरु गर्न पाएनन् ।

अर्को विवाह गरेका श्रीमान्को १५ असार २०६८ मा मृत्यु भएको थियो । कान्छी श्रीमती पट्टीको झड्केलो छोरासँग नाता प्रमाणित गरेर वडाबाट सर्जिमिन मुचुल्का लगायतका कागजी प्रक्रिया पूरा गरेर सदरमुकाम खाँबारी आइन् ।

जिल्ला प्रशासन कार्यालयबाट प्रहरी मुचुल्का चाहिने भन्दै जिल्ला प्रहरी कार्यालय पठायो । तर प्रहरीबाट वडादेखिको सिफारिसमा नै त्रुटि भएको, सच्याएर ल्याउनु भन्दै फर्काएपछि उनीहरु आजित भएको कान्छीमाको आफन्त सोना तेन्जिङ शेर्पाले दुखेसो पोखिन । यद्यपि नागरिकता पाउँदा भने खुसी लागेको उनले बताइन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १३:५६