१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

खुला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा


१ असोज, तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । शुक्रबार विहान ९ बजदेखि नेकपाको केन्द्रीय समितिको ११औं पूर्ण बैठक सुरु भएको हो ।

पाँच दिनसम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने केन्द्रीय सदस्य एवम् तनहुँ इन्चार्ज पूर्णजित पुन ‘उभार’ले बताए । राष्ट्रिय राजनीतिबारे पनि छलफल चल्ने उनको भनाइ छ । ‘राष्ट्रिय राजनीतिमा अहिले संकट पैदा भएको छ । यसको समाधानका निम्ति हामी क्रान्तिकारी पार्टीको हैसियतले कसरी अगाडि बढ्ने सन्दर्भमा छलफल चल्नेछ’, उनले भने ।

राज्यसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको बिषयमा पनि केन्द्रीय समितिले छलफल गर्ने जनाइएको छ । ‘राज्यले इमान्दारीतापूर्वक तीन बुँदे सहमति कार्यान्वयन गरेको छैन । ढिलासुस्ती भइरहेको छ । हामीले ईमान्दारीता पूर्वक कार्यन्वयन गरिरहेका छौँ । हामी प्रतिबद्ध पनि छौँ ।

सरकारले हेलचक्रयाँई गरेको सन्दर्भमा हामी कसरी जाने भन्नेमा पनि छलफल गर्नेछौं,’ पुनले भने । पार्टीको आन्तरिक कमिटीलाई कसरी सुदृढ पार्ने र व्यवस्थित पार्न बैठकले तय गर्ने उनको भनाइ छ । बैठक सकेपछि पत्रकार सम्मलेन गरेर निर्णय सार्वजनिक हुने उनले बताए । बन्दीपुरस्थित माउण्टेन रिसोर्टको हलमा सुरु केन्द्रीय समितिको बैठक ५ असोजसम्म जारी रहने पार्टीले जनाएको ।

तीन बुँदे सहमतिपछि २१ फागुन २०७७ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो । दुई बर्षदेखि लगाइएको प्रतिबन्ध मन्त्रिपरिषद् बैठकले फुकुवा गरेपछि विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा फर्किएको हो ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १२:३९