८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल-चीन सीमा विवादः लिमी लाप्चामा सीमा स्तम्भको अध्ययन गरेर हिल्सा पुग्यो समिति


-सुरेस परियार

१ असोज, सिमकोट । नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालय टोलीले लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटदेखि लाप्चासम्म गाडीमा पुगेको टोली ४ दिन पैदल हिँडेर झन्डै ५ हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

नाम्खा गाउँपालिका वडा ६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो । गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्यहरु र नाम्खा गाउँपालिका वडा ६ का स्थानीय लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमा स्तम्भको अध्ययनका लागि यहाँ पुगेका हुन् ।

हुम्ला आएकामा संयोजक आचार्यसँग सदस्यहरू उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटुवाल छन् । नाम्खाको किटखोलामा रहेको ५ नम्बर सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ ।

नाम्खाको वडा ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीय टोली पनि लिमी लाप्चाको १२ नम्बर सीमा स्तम्भमा पुगेका थिए । अध्ययन समितिको टोली लाप्चा अध्ययन गरी हिल्सा पुगेका हुन् । उक्त टोली २७ भदौमा सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो ।

हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५ वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १२:३०