८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमा नाम !


-दिलमाया शाही

३१ भदौ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले माग गरेको करार सेवाका स्टाफ नर्समा आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमा नाम निकालिएको भन्दै चर्को आलोचना भएको छ ।

गत ३० साउनमा प्रकाशित सार्वजनिक सूचनाअनुसार प्रतिष्ठानमा २५ जना नर्स करार सेवामा माग गरिएको थियो । त्यसमा जम्मा १६३ जनाले आवेदन दिएका थिए । त्यसबाट पनि प्रतिष्ठानले सार्वजनिक गरेको आवेदन सूचीमा सपना न्यौपाने नभएर सपना नेपाली भनेर नाम आएको पाइएको छ ।

यसरी लिखितमा नाम निकाल्न सफल परिक्षार्थीको नाम लिस्टमा पनि उक्त नाम उल्लेख छैन । प्रष्ठिानले २६ भदौमा लिखित परीक्षा लिएको थियो ।

प्रष्ठिानले यस पटक परीक्षा कोडिङ र डिकोडिङ प्रणालीबाट संचालन गरेको थियो । प्रतिष्ठानले परीक्षा मर्यादित र चुस्तदुरुस्त बनाउनकै लागि कोडिङ प्रणाली लागू गरेको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । उनले भने, ‘कुनै पनि परीक्षार्थीलाई हामीले दिएको परीक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८ घण्टाभित्र पुन:जाँचका लागि निवेदन दिने व्यवस्था गरेका थियौँ ।’

महतका अनुसार पुन:जाँचका लागि आठ जना विद्यार्थीले निवेदन दिएका थिए । उनले आठ जनामध्ये एक जना सपना न्यौपाने रहेको बताए । सपना न्यौपानेको उत्तरपुस्तिका पुन:जाँच गर्दा उनको एक नम्बरमा नाम आउन सफल भएको बताए ।

उनले सदीक्षा रोकाया र सपना न्यौपानेको पुन:जाँच गर्दा डिकोडिङमा भूलबस त्रुटि भएको स्वीकारे । महतले सपना न्यौपाने राम्रो विद्यार्थी भएकाले उनलाई अन्याय नहोस् भनेर नतिजा पुनः संशोधन गरिएको बताए ।

यसरी मौखिक परीक्षा २९ भदौमा लिएर अन्तिम नामावलीमा उनको नाम पहिलो नम्बरमा समावेश भएको महतको भनाइ छ । त्यहाँ उनलाई एसएन/०५७ कोडिङ दिइएको छ, जुन कोडिङ लिखित परीक्षामा सदीक्षा रोकायाको हो ।
आवेदकहरूको सूचीमा सपना न्यौपाने नाम नै छैन भने संशोधित नतिजामा उनले लिखितमा नाम निकालेको भन्दै उनलाई समावेश गरिएको छ ।

जहाँ उनलाई एसएन/०३९ कोडिङ दिइएको छ । यसरी प्रदेशकै नमुना अस्पतालले एकातर्फ कोडिङमा गम्भीर त्रुटि गरेको छ भने अर्कातिर आवेदन नै नपरेका उम्मेदवारले एक नम्बरमा नाम निकालेर अर्को गम्भीर त्रुटि गरेको जुम्लाबासीको आरोप छ ।

यता, रजिस्ट्रारले महतले परीक्षा समितिले कोडिङ र डिकोडिङमा नम्बरमा मानवीय त्रुटि भएका कारण यस्तो हुन पुगेको बताए । उनले भने, ‘कुनै पनि नियत नभएर परीक्षा समितिको प्राविधिक त्रुटि हो । तर, जुम्लाबासीले प्रतिष्ठानका पदाधिकारीले आफ्ना मान्छे ल्याउनकै लागि यस्तो कार्य गरेको बताएका छन् ।

सदीक्षा रोकायाका बुबा दलसिंह रोकायाले यसअघि पनि सदीक्षा रोकायाले प्रष्तिठानको लिखित परीक्षामा तीन पटक नाम निकाल्दा मौखिकमा फलिएको बताए । उनले भने, ‘प्रतिष्ठानका पदाधिकारीको मिलोमतोमा राजनीतिक भर्तीकेन्द्र बनेको छ । हामी जस्ता पहुँचविहीनका छोराछोरीको पढाइले यहाँ महत्त्व पाउँदैन ।’

उनले प्रतिष्ठान निष्पक्ष हुने भए लोकसेवा आयोगलाई परीक्षा लिने जिम्मेवारी दिन सक्ने बताए । महिनामा ५० हजार रुपैयाँसम्म तलब खाने कर्मचारीका लागि लोकसेवा आयोगको प्रतिनिधिको उपस्थितबिना परीक्षा लिइन्छ । उनले भने, ‘यहाँ कुनै गरिब दुखीका छोराछोरीले जागिर खाएका छैनन् । पहुँचवालाको मात्र भर्तीकेन्द्र भएको छ ।’

प्रतिष्ठान आलोचनामा आएको विषय यो पहिलो भने होइन । यसअघि पनि पटक पटक विभिन्न कारणले चर्को आलोचना खेप्दै आएको छ ।

यता, सपना न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको करार सेवाका नर्सिङ स्टाफमा आवेदन दिएको बताइन् । उनले भनिन्, ‘आवेदन सूचीमा मेरो नाम सपना नेपाली भएको थियो र कोड एसएल/०३९ थियो ।’

उनले प्रवेशपत्रमा सपना न्यौपाने नै भएकाले परीक्षा दिएको बताइन् । उनले यस विषयमा छलफल गर्दा आवेदन सूचीमा सपना नेपाली भए पनि फरक नपर्ने त्यहाँको परीक्षा समितिले भनेपछि परीक्षा दिइएको सुनाइन् ।

न्यौपाने भन्छिन्, ‘मैले परीक्षा दिँदा राम्रो गरेकी थिएँ तर पनि रिजल्टमा मेरो नाम आएन । परीक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८ घण्टाभित्र पुन:जाँचका लागि निवेदन दिने प्रतिष्ठानले व्यवस्था गरेको थाहा पाएँ ।’

उनले आफ्नो अधिकार प्रयोग गरेर उत्तरपुस्तिका पुन:जाँचका लागि निवेदन दिएको बताइन् । उनले भनिन्, ‘परीक्षा समितिको बैठक बसेर पुन:जाँच गर्ने बताएको थियो । मेरो निवेदनपछि पुन: प्रष्ठिानले संशोधित प्रकाशित सूचनामा मेरो नाम छ ।’

उनले बाग्मती प्रदेशमा आफ्नो अन्तर्वार्ता भएकाले छिटो पुग्नुपर्ने हुँदा सबैभन्दा अगाडि मौखिक परीक्षा दिएर आएको बताइन् । यसमा आफ्नो कुनै कमजोरी नभएको उनको जिकिर छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार २०:००