१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

तलब भत्ता वृद्धिको माग गर्दै विद्यालयका कर्मचारी र शिक्षक आन्दोलनमा


३१ भदाै, जनकपुरधाम । तलब भत्ता वृद्धिको माग गर्दै जनकपुरधाम उपमहनगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल विकास शिक्षकहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको हक, हित र सेवा, सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला र शिक्षा मन्त्रालयले स्वीकृत प्रदान गरेअनुसारको तलब भत्ताको माग गर्दै बाल विकास शिक्षक र कार्मचारीहरूले बिहीबार जनकपुरमा संयुक्त प्रदर्शन गरेका छन् ।

चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले विद्यालयका कर्मचारी र बाल विकास शिक्षकका सम्बधमा समेत तलबमा स्थानीय तहबाट थप गरी तलब खुवाउन भनी बजेट भाषणमा उल्लेख भएकाले सोअनुसारको सेवा, सुविधा पाउनुपर्ने उनीहरूको माग छ ।

विद्यालयमा कार्यरत लेखापालको मासिक १८ हजार ५००, बाल शिक्षकको मासिक १५ हजार, विद्यालय कार्यालय सहयोगी १५ हजार रुपैयाँको माग गरिएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल शिक्षकले संयुक्त रूपमा गठन गरेको आन्दोलन परिचालन समितिले आफूहरूको माग पूरा नभएको खण्डमा चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

जनकपुरधाम उपमहनगरपालिका उनीहरूले बुझाएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय धनुषा र शिक्षा विकास तथा समन्वय इकाई धनुषालाई बोधार्थसमेत गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १९:४५