१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

च्याम्पियन्स लिगः रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज


३० भदौ, काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत आज समूह चरणका खेलहरु हुँदैछन् । बुधबार च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । मंगलबारबाट सुरु भएको च्याम्पियन्स लिगमा पहिलो दिन इ, एफ, जी, एच समूहका खेल भएका थिए ।

मंगलबार हुने पहिलो खेलमा टर्कीस क्लब बेसिक्तास जेकेविरुद्ध जर्मन क्लब बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुनेछ । समूह सी को यो खेल नेपाली समयअनुसार राति १०ः३० मा टर्की स्तानबुलस्थित भोडाफोन पार्कमा हुनेछ । समूह सी कै अर्काे खेलमा पोर्चुगलको स्पोर्टिङ सिपी र नेदरल्याण्डको एजाक्सबीच प्रतिस्पर्धा हुनेछ ।

पोर्चुगलको लिस्बनमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । समूह डीअन्तर्गत माल्दोभाको एफसी सेरिफ तिरास्पोल र उक्रेनी क्लब सख्तर डानेटसकबीचको खेल राति १०ः ३० बजे सुरू हुनेछ । खेल माल्दोभाको सेरिफ मैदानमा हुनेछ । समूह डी कै अर्काे खेलमा युरोपेली बलिया क्लब इन्टर मिलान र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ ।

इटाली क्लब इन्टर र स्पेनिस क्लब रियल म्याड्रिडबीचको खेल नेपाली समयअनुसार राति पौने १ बजे मिलानस्थित सान सिरो मैदानमा हुनेछ ।समूह ए को खेलमा क्लब ब्रग र पेरिस लिग वान च्याम्पियन पेरिस सेन्ड जर्मन (पिएसजी) बीच प्रतिस्पर्धा हुनेछ । स्टार खेलाडी लियोनल मेस्सी पिएसजी जोडिएपछि उसले खेल्न लागेको पहिलो खेल हो । घरेलु क्लब ब्रगविरुद्ध तीन स्टार लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे नै रहनेछन् ।

समूह ए कै अर्काे खेलमा इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाईपजिकको सामना गर्नेछ । दुबै खेल नेपाली समयअनुसार पौने एक बजे सिटी घरेलु मैदान इतिहादमा सुरु हुनेछ ।

यस्तै समूह बीको खेलमा स्पेनिस ला लिगा क्लब एथ्लेटिको म्याड्रिडले एफसी पोर्टोको सामना गर्नेछ । खेल एथ्लेटिकोको घरेलु मैदानमा हुनेछ । समूह बी कै अर्काे खेलमा लिभरपुल र एसी मिलानबीच प्रतिस्पर्धा हुनेछ । खेल लिभरपुलको मैदान एनफिल्डमा हुनेछ । समूह बीका दुबै खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १२:२४