७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

माधव नेपालले देश र जनताप्रति गद्दारी गरे, आगामी निर्वाचनमा वडा सदस्य पनि जित्दैनन्ः ओली


२९ भदौ, झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट फाइदा लिनुसम्म लिएर पार्टी फुटाएको आरोप लगाए ।

‘यस पार्टीबाट फाइदा लिनुसम्म लिए । १६ वर्षसम्म महासचिव भए । प्रधानमन्त्री भए । पार्टी कहाँ पुर्‍याए ? २४० सिटमध्ये ३३ मा झारे । महाचिवबाट चलाउन सकिँदैन भनेर राजनीमा दिए । खुरुक्क बस्या भए हुँदैनथ्यो । फेरि प्रधानमन्त्री भए । चलाउन सकेनन् । राजीनामा दिएर हिँडे । सरकार र पार्टी रसातालमा पुर्‍याएर राजीनामा दिए । फेरि अध्यक्षमा दाबी गरेर पार्टी रसातालमा पुर्‍याउन हो ?’ उनले प्रश्न गरे ।

माधव नेपाल कम्युनिस्ट आन्दोलनमा हिजो जोडिएका र अहिले छुट्टिएको ओलीको भनाइ छ । ‘यसरी जोडिएका रहेछन् रसायन पुगेको रहेनछ पकल्क फुटे । एमाले एकजुट भएको छ । हिम्मत हार्नुहुँदैन। एकजुट भएर अघि बढे हामी जित्छौ,’ उनले भने ।

ओलीले माधव नेपाल कम्युनिस्ट नभएको पनि दाबी गरे । ‘एमाले फुटाउन त्यतिकै प्रयास गरिएको छैन । विदेशी प्रतिक्रियावादीको मुटु हल्लाइदिएको छ । एमाले फुटाउने हाम्रो साथी होइन । माधव नेपालले पार्टी बनाउन होइन एमाले फुटाउन तमासा गरेको हो । यत्रो पार्टी बनिसकेपछि फुटाउनेले पार्टी बनाउँछ र?’ उनले प्रश्न गरे ।

‘वडा सदस्य पनि जित्दैनन्’

अध्यक्ष ओलीले माओवादीलाई वडाध्यक्ष जित्न हम्मेहम्मे पर्ने र माधव नेपालले वडा सदस्य पनि नजित्ने दाबी गरे । ‘प्रचण्डजीले हिजो सही कुरा निकाल्नुभयो, हामीले त वडामा पनि चुनाव जित्न हम्मेहम्मे पर्ला जस्तो छ भन्नुभयो । उहाँले चुनावअघि सही कुरा निकाल्नु भयो । माधव नेपालले त वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले भोट हाल्लान् ? के कारणले हाल्ने ? एमाले फुटाइएकाले ? जनतालाई धोका दिएकाले ?’ उनले प्रश्न गरे ।

संगठन कसरी बनाउनुपर्छ, विचार कसरी अगाडि बढाउने भन्नेमा एमाले गुरु पार्टी भएको उनको भनाइ थियो । ‘कसरी चुनाव जित्ने, सरकार बनाउने, चलाउने, देश विकास गर्ने एमालेले सिकाउँछ । तीन वर्ष एमाले सरकारमा के पुगेको थियो तहल्का भयो । यता बाटो चौडा, उता झोलुङ पुल बन्दैछ । एकैदिन सयौं हस्पिटल पुल शिलान्याश हुँदैछ । अनि प्रतिक्रियावादी असैह्य भयो,’ उनले भने ।

माधव नेपालले पार्टीमा साथ दिएको भए वामपन्थी सरकार र सदन निरन्तर चलिरहने अवस्था हुन्थ्यो तर एउटा झुण्ड लिएर पार्टी र देश जनताप्रति गद्दारी गरेको ओलीको आरोप थियो । ‘बेइमानी गरेर सरकार ढाले । नजानेर गर्नलाई केटाकेटी हुन् र । झुक्किएर त होइन होला । जानीजानी, कपाल फुलेका नजानेर गरे होलान । जानेर गरेका हुन्,’ उनले भने ।

‘एमालेको ओजन घटेको छैन’

अध्यक्ष ओलीले माधव नेपाल चोइटिएर गएको भन्दै एमाले कमजोर नभएको बताए । नेकपाबाट प्रचण्ड गुट बाहिर गएपछि कमसेकम एमालेलाई एकजुट भएर राखौ भनेको तर माधव नेपाल जसरी पनि फुटाउने मनसायमा लागेको ओलीको आरोप थियो । ‘फुटाउन सकेन चोटिएर गए । पतझरहरू झरेर कोसी कहाँ रोकिन्थ्यो । पतकर झरेर कोसी रोकिँदैन । पिलो निचौरिँदैमा ओजन घट्दैन । एमालेको ओजन घटेको छ ? पिलो भुत्त निस्केर गयो । एमालेको ओजन घटेको छैन । झन झन बढ्दैछ,’ उनले भने ।

‘आन्दोलन ध्वस्त पार्न दिँदैनौ’

अध्यक्ष ओलीले माधव नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने अभियानमा लागेको आरोप लगाए । ‘माधव नेपालको विचरा राजनीति साझनीति केही छैन । न जादु, मन्तर, टुना छ, न केही छ । कसैले अहराएको छ । बाध्यता छ पार्टी टुटाउने । अब कामरेड माधव नेपाल होइन । एमाले विरोधी, जनविरोधी माधव नेपाल,’ ओलीले भने, ‘माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई धराशायी र ध्वस्त पार्न चाहेका छन् ।

तर यो सपना कसैले पूरा हुन दिँदैनौं । जनताले यस्ता सपना पूरा हुन दिँदैन । एमालेको आवश्यकता देशको रक्षाका लागि हो ।’ ओलीले नेपालको मिचिएको भूभाग फिर्ता ल्याउन बलियो एमाले चाहिने र सरकारमा पुगेर फिर्ता ल्याउने बताए । ‘हामी नक्कली देशभक्त होइन वास्तविक हो । देशभक्तिका लागि एमाले चाहिन्छ,’ उनले भने ।

एमालेलाई सरकारबाट हटाउने षडयन्त्र एमालेभित्रैबाट माधव नेपालले गरेको र पदका लागि पार्टी फुटाउने माधव नेपाल पतनको बाटोमा लागेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १७:१०