१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माधव नेपाल पार्टी बनाउन चाहँदैनन्ः अध्यक्ष ओली


२९ भदौ, झापा । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले एकीकृत पार्टी भएको बताएका छन् । एमाले-माओवादी केन्द्र एकता विघटनपछि पनि एमाले एकीकृत पार्टी भएको उनले दाबी गरेका हुन् ।

मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा पूर्वमाओवादीका पनि नेता कार्यकर्ता रहेको भन्दै यस्तो दाबी गरेका हुन् ।

‘अदालतले एकता भंग गरेको हैन, पार्टी दर्ता भंग गरेको हो । फेरि एकता गर्न सकिन्थ्यो । त्यसका लागि प्रचण्डलाई पनि फोन गरेर भनें, तर उनले मजाक बनाए,’ उनले भने, ‘नेकपामा हुँदा माओवादी आन्दोलनमा योगदान साथीहरू एमालेमै हुनुहुन्छ । यो पार्टी एकीकृत पार्टी हो । कानुनी रूपमा एमाले नाम रह्यो । माओवादी हैन, प्रचण्ड गुट हो ।’

उनले माओवादीमा रहेकालाई पनि एमालेमा आउन आग्रह गरे । प्रचण्डको मोहजालले माओवादीमा रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य सकिने दाबी गरे ।

ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो । ‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए,’ उनले भने, ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १५:५५