७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

वैज्ञानिकले दिए गाईलाई पनि शौचालय जाने तालिम


२९ भदौ, वेलिंटन । वैज्ञानिकहरुले गाईलाई पनि तोकिएको शौचालयमा गहुँत फाल्न तालिम दिएको बताएका छन् । यसले हरितगृह ग्याँस उत्सर्जनमा कटौती हुने उनीहरुको विश्वास छ । गाईलाई गहुँत फाल्न तालिम प्रदान गर्ने बिचार सुरुमा न्युजिल्यान्ड र जर्मनीका अनुसन्धानकर्तालाई ‘जोक’ जस्तै लागेको थियो । तर, यसले सकरात्मक नतिजा ल्याएपछि उनीहरु दंग छन् ।

‘कम्तिमा २० प्रतिशत गहुँत संग्रह गर्न सक्यौं भने हरितगृह ग्याँस उत्सर्जन कटौतीमा पर्याप्त हुन्छ ।,’ अकल्यान्ड युनिर्भसिटीका डगलास इलिफ भन्छन् । गाईको गहुँतको नाइट्रस अक्साइडले हरितगृह ग्याँस निकाल्छ भने नाइट्रेट माटो हुँदै खोलासम्म पुग्छ । विश्वभर हुने कूल हरितगृह उत्सर्जनमा नाइट्रस अक्साइड पाँच प्रतिशत जिम्मेवार हुन्छ ।

सांकेतिक तस्बिर ।

अनुसन्धानकर्ता लिन्डसे म्याथ्युले सन् २००७ मा एक सञ्चारकर्मीसँगको अन्र्तवार्तामा गाईलाई शौचालयमा पिसाब फेर्न तालिम दिन सकिने बताएका थिए । त्यतिबेला उनलाई धेरैले उडाए । तर, अहिले जर्मनीमा वैज्ञानिकहरुले १६ गाइलाई शौचालयमा गहुँत फाल्न तालिम दिएका छन् ।

यसै साता करेन्ट बायोलोजीमा प्रकाशित सो अध्ययनमा गाईलाई शौचालयको तालिम सम्भव भएको इलिफले बताएका छन् । तर, फार्म बाहिर चराइने गाईमा यो प्रविधि चुनौती हुने वैज्ञानिकहरु बताउँछन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १२:०७