१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

विष्णु माझीकाे अवस्थाबारे मानव अधिकार आयोगकाे चासो, माइतीघरमै पुग्यो प्रहरी


२८ भदाै, काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले चर्चित गायिका विष्णु माझीबारे चासो देखाएको छ । माझीकाे पछिल्लो गीत ‘चरी जेलैमा’ चर्चित भएसँगै उनको अवस्थाबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा-परिचर्चा हुँदै आएका छन् । सामाजिक सञ्जालमा उनकाे बिषयमा विभिन्न चर्चा भएपछि मानव अधिकार आयोगले गायिका माझीको अवस्थाबारे चासो देखाएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले सामाजिक सञ्जालहरुमा माझीको अवस्था सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेकाले आफूहरुले उनको परिवारसँग बुझ्ने प्रयास गरेको बताए । आयोगले जिल्ला प्रशासन कार्यालय स्याङ्जा र प्रहरीलाई माझीका बारेमा थप जानकारी उपलब्ध गराउन निर्देशन दिएको  पोखरेलले जानकारी दिए ।

आयोगले स्याङ्जाका प्रहरी प्रमुख एवं एसपी होविन्द्र वोगटीलाई फोन गरेर आवश्यक जानकारी गराउन आग्रह गरेको थियाे । तर, प्रहरीले माझीको माइती घरमा पुग्दा कसैलाई पनि नभेटेकाे बताएकाे छ । माझीका बुबा आमाको निधन भइसकेकाले घरमा कसैसँग पनि भेट नभएको प्रहरीको भनाई छ ।

एसपी बोगटीले भने, ‘हामीले अनौपचारिकरुपमा माइतीमा बुझ्न खोजेका थियौ । तर, घरमा कोही पनि रहेनछ । बुवाआमा बितिसक्नुभएको रहेछ । अरु कुराहरु थाहा हुन सकेन । उहाँका बुबाआमा बितिसक्नुभएको रैछ । त्यसैले धेरै कुरा थाहा हुन सकेन’।

२०७५ सालमा पनि विष्णु माझीको अवस्था सार्वजनिक गर्न आवाज उठेकाे थियाे । प्रहरीले विष्णु माझी र उनका श्रीमान सुन्दरमणी अधिकारीलाई बोलाएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा विष्णुले आफूमाथि श्रीमानबाट कुनै किसिमको गलत व्यवहार नभएको, आफू श्रीमानसँग खुसी रहेको र राजीखुसीले गुमनाम बसेकाे बताएकी थिइन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १३:३८