१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रतिनिधिसभा बैठकमा जे देखियो…


२५ भदाै, काठमाडाैँ । प्रतिनिधिसभाको बैठक शुक्रबार तीन पटक बस्यो । शुक्रबार अपरान्ह बसेका तीनवटै बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरह्यो । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै सांसदहरूले सुरूदेखि नै नाराबाजी गरिरहे ।

सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न बारम्बार अनुरोध गरिरहे । तर, एमाले सांसदहरूले टेरेनन् । एमाले सांसदको नाराबाजीका कारण सभामुख सापकोटाले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरे ।

नाराबाजीकैबीच सभामुख सापकोटाले दोस्रो बैठकलाई कार्यसूचीमा प्रवेश गराए । बैठक सुरू भएलगत्तै सभामुख सापकोटा र नेपकिपाका सांसद प्रेम सुवालबीच केहीबेर सवालजवाफ पनि चल्यो ।

प्रतिपक्षी दल एमालेको नाराबाजीका बेला आफूले प्रस्ताव प्रस्तुत गर्न नसक्ने सांसद सुवालले बताए । तर, सभामुख सापकोटाले आफूले रूलिङ गरेकाले यथास्थानबाट प्रस्ताव प्रस्तुत गर्न सांसद सुवाललाई आग्रह गरे । सुवाल मानेनन् । त्यसपछि केहीबेर सभामुख सापकोटा र सांसद सुवालबीच केहीबेर सवालजवाफ भयो ।

सभामुख सापकोटाले सुवाललाई आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेशलाई अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । ती अध्यादेशलाई बैठकले स्वीकृत ग¥यो । लगत्तै सभामुख सापकोटाले १५ मिनेटका लागि दोस्रो पटक बैठक स्थगित गरे ।

शुक्रबार दुई दुई पटक १५ मिनेटका लागि बैठक स्थगित गरियो । तेस्रो पटक बसेको बैठकमा भने एमाले सांसद र मर्यादापालकबीच रमाइलो घम्साघम्सी नै प¥यो । एमाले सांसद रेखा झाले माइक तानेर सभामुखलाई हिर्काउन खोजिन् । तर, उनलाई अन्य सांसद र मर्यादापालकले रोकेर दुर्घटनाबाट जोगाए ।

नाराबाजीकाबीच सभामुख सापकोटाले दायाँबायाँसमेत नहेरी अर्थ सम्बन्धी अध्यादेशहरू प्रतिस्थापन गर्न बनेको विधेयक बैठकमा पेस गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिए । नाराबाजी गरिरहेका एमाले सांसदहरू रोस्ट्रममा उक्लिन खोज्दा मर्यादापालक र सांसदहरूबीच लामो समय घम्साघम्सी चल्यो ।

घम्साघम्सीकैबीच विधेयकहरू पेस गर्दा अर्थमन्त्री शर्मा निकै आत्तिएका देखिन्थे । रोस्ट्रम अगाडि उत्तेजित भएर नाराबाजी गरिरहेका एमाले सांसदरूतिर नियाल्दै शर्माले लर्बराउँदै हतार हतार विधेयक प्रस्तुत गरे ।

शर्माले विधेयक पेस गरेपछि सभामुख सापकोटाले ‘मैले शोक प्रस्ताव प्रस्तुत गर्दैछु’ भन्दै शान्त रहन नाराबाजी गरिरहेका सांसदहरूलाई आग्रह गरे । त्यसपछि नाराबाजी गरेका सांसद चुपचाप उभिरहे ।

उनीहरू उभिरहँदा सभामुख सापकोटाले जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । शोक प्रस्ताव पारित गरेपछि सबै सांसदहरूले मौन धारण गरे ।

मौन धारण सकिएलगत्तै फेरि सुरू भयो एमाले सांसदहरूको नाराबाजीे । केहीबेर नाराबाजीपछि सभामुख भने, ‘प्रतिनिधिसभाको अर्काे बैठक भदौ २७ गते आइतबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित हुन्छ ।’

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १७:४१