६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

अस्पताल बन्द गराउने चिकित्सकलार्इ पक्राउ गरेर जेल हाल्ने तयारी


३ साउन, काठमाडाैँ । सरकारले अस्पताल बन्द गराउने चिकित्सकलार्इ जेल हाल्ने तयारी गरेकाे छ । बिहीबार बिहान मन्त्रालयमै अायोजित पत्रकार सम्मेलनमा शिक्षा,  विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनताको प्रत्यक्ष सेवा र सरोकारसँग जोडिएको स्वास्थ्य क्षेत्रमा अनशन र हडताल गर्नु अनुचित भएको भन्दै अराजकता प्रस्तुत गर्नेलार्इ पक्राउ गरी जेल हाल्ने तयारी गरेको संकेत गरे ।

उनले हडताल अन्त्यका लागि सराेकारवाला मन्त्रालयसँग समन्वय भैरहेकाे भन्दै स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालको हडताल नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयसँग र अस्पताल बन्द गराउनेलार्इ पक्राउ गरी जेल हाल्न गृह मन्त्रालयसँग समन्वय भैरहेकाे बताए । शिक्षा मन्त्रालयले केही  दिन अघि नै अाफू मातहतकाे  त्रिवि शिक्षण अस्पतालमा सेवा नियमित गराउन  निर्देशन दिँदै पत्राचार गरेकाे थियो ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार एक पटक जानकारी गराउने र अटेर गरे त्यस्ता चिकित्सकलार्इ पक्राउ गरेर थुन्नेमात्र नभइ सेवाबाटै बर्खास्त गर्न तयारी भएको छ । मन्त्री पोखरेलले शिक्षण संस्थालाई अनशनस्थल बनाउनु हुँदैन र अस्पतालमा जनताको स्वास्थ्यमा असर पर्ने कुनै पनि गतिविधि गर्नु हुँदैन भन्नेमा सरकार दृढ रहेकाे बताए ।

यस्तै मन्त्री पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताएका छन । उनले भने ‘विधेयक फिर्ता हुँदैन । अध्यादेश अब आउँदैन । विधेयक प्रक्रियामा गइसकेको छ । प्रजातन्त्रका लागि लडेको मान्छेले निर्वाचित संसद्को गरिमा, मूल्य र मान्यता बुझिदिनुपर्छ । अब संशोधनको बाटोबाट जानुपर्छ ।’

याे पनि पढ्नुहोस

–गोविन्द केसीको नाममा अस्पताल बन्द गरेर सडकमा जाने चिकित्सकलाई बर्खास्त गर्ने तयारी

गृह मन्त्रालय ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १३:१८