८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कांग्रेसको भ्रातृ संस्था नै बन्ने भो पत्रकार महासंघ ! बैठकमा नेता राखेर प्रशिक्षण


१५ भदौ, नुवाकोट । नेपाल पत्रकार महासंघको नेतृत्वले महासंघको गतिबिधि कांग्रेसको भ्रातृ संस्थाको जस्तो बनाउने अभियान थालेको छ । महासंघको बागमती प्रदेश कमिटीले यसको अगुवाइ गरेको हो । यही भदौको ११ र १२ गते नुवाकोटको विदुरमा भएको महासंघको बागमती प्रदेश समितिको औपचारिक बैठकमा कांग्रेस नेताले करिब एक घण्टा राजनीतिक प्रशिक्षण दिएका हुन ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले महासंघको बैठकको बीचमा कांग्रेसको विगत,वर्तनमान र भविष्यका बारेमा प्रशिक्षण दिएको बैठकका सहभागीले बताएका छन । अध्यक्ष शिव देवकोटाले मेरो पत्रकारिताको सुरूवातकर्ता नेता भन्दै केसीलाई बैठकमा सहभागी गराएको महासंघका बागमती प्रदेश समितिका सदस्य रामहरि गजुरेलले जानकारी दिए ।

दुई दिन चलेको बैठकमा १२ गते बिहान केसीले कांग्रेसका बारेमा प्रशिक्षण दिँदा माओवादीका नाममा महासंघमा चुनाव जितेर गएका पत्रकारहरू पनि ट्वाल्ल परेर सुनिरहेका थिए । बैठकमा कसैले पनि त्यस विषयमा असहमति नराखेको गजुरेलले बताए ।

बागमती प्रदेशबाट निर्वाचित भएका दुबै जना केन्द्रीय सदस्य सुनिल खड्का र ध्रुव रावल सहभागी बैठकमा कांग्रेस नेता सहभागी गराएर राजनीतिक प्रशिक्षण दिएपछि महासंघको स्वतन्त्रतामाथि प्रश्न उठेको छ । नितान्त महासंघको बैठकमा किन कांग्रेस केन्द्रिय सदस्य राखेर प्रशिक्षण चलाइयो भन्ने विषयमा केन्द्रीय समितिले खोजिरहेको बुझिएको छ ।

महासंघले गर्ने सार्वजनिक कार्यक्रममा नेताहरू राख्नु कुनै नौलो कुरा होइन तर आन्तरिक बैठकमा नै कांग्रेस नेता राखेर प्रशिक्षण दिएपछि महासंघको बागमती प्रदेश समिति कांग्रेसको भ्रातृ संस्था बन्ने बाटोमा अग्रसर भएको धेरैको बुझाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार ०८:०५