११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्रधानमन्त्रीज्यू, आफैँ रुने/आँशु झार्ने होइन, जनताको मुहारमा हाँसो ल्याउनुस् र आफू पनि हाँस्नुस्


३ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोली कथा नेपालको एउटा कार्यक्रममा अाँशु झार्दै रोएपछि अग्रज पत्रकार समेत रहेका हाल अमेरिकामा बसोबास गर्दै अाएका प्रवासी नेपाली रामचन्द्र भट्ले प्रधानमन्त्रीलार्इ एउटा महत्वपूर्ण सुझाव दिएका छन ।  प्रधानमन्त्रीज्यू, आफैँ रुने/आँशु झार्ने होइन, जनताको मुहारमा हाँसो ल्याउनुस् र आफू पनि हाँस्नुस् । उनको स्टाटस हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।

‘कठिन छ जीवन’

हो साँच्चै कठिन छ जीवन प्रधानमन्त्रीज्यू ! तस्कर, माफिया, कालाबजारीका लागि जीवन स्वर्ग छ । कठिन छ त केवल निमुखा, आवाज विहिनहरुका लागि । प्रमंज्यू, तपाईको आँशु अनि अवरुद्ध गलाले संकेत गर्छ-देशका लागि केहि गर्छु भन्ने । तर व्यबहारमा तपाई कता कता हराउनुभएको छ । हात नहाल्नुपर्ने ठाउँमा हात बढेका छन्, हात हाल्नुपर्ने ठाउँमा हात पछि परेको छ । हात हालिसकेर पनि स्यावासी पाएको ठाउँमा एकाएक हात निस्किएको छ । तपाईबाट स्वदेशमा रहेका नेपालीले ठूलो विश्वास र अपेक्षा गरेका छन् । त्यसैले त भोट दिएर सहज बहुमत दिए । तपाईप्रति विदेशमा बस्ने नेपालीले पनि ठूलो आशा लिएका छन् ।

त्यो आशा र विश्वासमा आघात नपुगोस् । सरकार चलाउने, जनताको काम गर्ने यति सजिलो अवसर नत यसअघिका सरकारले पाए, नत अब पाउनेनै छन् । तपाईको वोनस जीवनको पलपलको समय कुनै पनि खराब र जनताले दुत्कार्ने क्षेत्रमा खर्च नहोस् । सकारात्मक कामको स्पिडको गियर-अप गर्नुस् ।

गोबिन्द केसीसँग तपाई आफैँ वार्ता गर्नुस् । घमण्ड होइन, झुकेर देखाईदिनुस् । तपाई असफल हुनु भनेको केपी ओली असफल हुनु होइन नेपालमा बहुमतका सबै सरकार असफल हुन्छन् भन्ने नजीर पनि बस्नेछ ।

सरकारले बाटो बिराएको देखिन्छ । यताबाट हेर्दा त्राहीमामको अवस्थामात्र सुनिन्छ । सरकार तस्कर र कालोबजारीसँग नझुकोस् । मनोज पाण्डेसँगको ‘जनतासँग प्रधानमन्त्री’ हेरेपछि लाग्यो-जनताको अपेक्षा पुरा गर्न धेरै बाँकी छन् । ध्यान त्यता केन्द्रीय गर्नुस् । आफैँ रुने होइन, आँशु झार्ने होइन । जनताको मुहारमा हाँसो ल्याउनुस् र आफू पनि हाँस्नुस् ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार ०५:३०