८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रदीप भट्टराईले यसरी खुलाए ‘कमेडी च्याम्पियन’ मा निर्णायक बन्नुको कारण


-प्रदीप कार्की

१४ भदौ, काठमाडौँ । प्रदीप भट्टराई अहिलेका सफल निर्देशकको सूचीमा अग्रपंक्तिमा पर्छन् । डेढ दशक अगाडि मह सञ्चारमार्फत रजतपटमा प्रवेश रेका प्रदीपले डेब्यु चलचित्र जात्रा, शत्रु गते र जात्रै जात्रामार्फत आफ्नो निर्देशकीय क्षमता प्रस्ट्याइसकेका छन् । आफू सुहाउँदो वा आफूले न्याय गर्न नसक्ने स्क्रिप्ट छाड्ने गरेको उनी बताउँछन् ।

यिनै प्रदीप पछिल्लो समय रियालिटी शो कमेडी च्याम्पियनमा निर्णायक छन् । पहिलो सिजनमा निर्णायक रहेका उनले दोस्रो सिजनमा पनि निरन्तरता दिए । तर, निर्णायक बन्ने निर्णय लिन उनलाई सहज भने थिएन । चलचित्रको अफर आइरहेका प्रदीपले ठूलो पर्दा नभई सानो पर्दा रोजे । आखिर प्रदीपले चलचित्र छाडेर किन रियालिटी शो रोजे त ? यो प्रश्न धेरैको मनमा हुन सक्छ । यसको सामना उनले पनि धेरैपटक गरेका छन् ।

केहीले त उनलाई चलचित्र निर्माताहरुलाई ‘नो’ भन्नुपर्ने बाध्यता भएपछि प्रत्येक साता सानो पर्दा आउनुपर्ने सोच बानाएको पनि भन्ने गरेका छन् । यद्यपि प्रदीप यसलाई स्विकार्दैनन् । उनले शो छनोट गर्नुको कारण नै ‘प्रतिभा’ लाई अगाडि ल्याउने मौका नगुमाएको बताउँछन् । शो अफर भएर निर्णायक बन्ने निर्णय लिन उनलाई प्रेरित गर्ने तथ्य नै ‘नवप्रतिभा’ बन्यो ।

‘हामीलाई चाहिने मान्छे, हामी नै खोज्न सक्छौं भने त्यो मौका किन गुमाउने ?’ प्रदीपले प्रतिप्रश्न गर्दै भने, ‘म कमेडी जनरामा काम गरिरहेको निर्देशक भएकाले पनि त्यही क्षेत्रलाई चाहिने प्रतिभा खोज्न अगाडि आएको हुँ ।’ आफै कन्भिन्स भएपछि शो गर्ने निर्णयमा पुगेको उनी बताउँछन्।

कमेडी क्षेत्रलाई कमेडी च्याम्पियन दिने शोमा प्रदीपले आफ्नो चलचित्रका लागि कलाकार पाउलान् त ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘कसले कति काम गर्न सक्छ भन्ने पनि शोमा रहेर नजिकबाट बुझ्न पाउँछौँ ।’ उनले एउटा प्रतिभा कमेडी च्याम्पियन बन्दै गरेको देख्दा आफ्नो कथामा फिट हुने पात्र देख्न पाउने बताए ।

‘मेरो कथामा सुहाउने च्याम्पियन मात्र होइन, मञ्चमा आउने जोकोही हुन सक्नु हुन्छ,’ उनले भने, ‘साथै काम पनि गर्नेछौँ, नगर्ने भन्ने नै छैन ।’ यद्यपि उनले कमेडी च्याम्पियनमा देखिने कमेडियन पनि अन्य झैँ सेलेक्सन हुने बताए । उनले भने, ‘कमेडी च्याम्पियनमा रहेको भनेर होइन कि पात्र सुहाउँदो हुँदा काम गर्ने नै हो ।’

यसरी जोडिए कमेडी च्याम्पियनमा

प्रदीपले लगातार तीनवटा चलचित्र बक्स अफिसमा हिट दिएपछि फिल्मकर्मीसँगको भेटघाट बाक्लो नै थियो । जात्रैजात्राको प्रशंसा बटुलिरहेको समयमा उनलाई एक दिन विशाल भण्डारीले भेट्ने आग्रह गरे । फिल्मकर्मी भएकाले भेट्ने समय तय भएर भेटघाट पनि भयो । त्यही भेटमा प्रदीपलाई कमेडी च्याम्पियन अफर भयो । उनले आफूलाई रियालिटी शोमा निर्णायक बन्ने अफर आउला भन्ने सोचेका भने थिएनन् ।

‘विशालजीको रिसर्चले केही इम्प्रेस भए पनि मैले डिसिजन दिन सकिनँ र फर्किएँ,’ प्रदीपले भने । शोमा सबैभन्दा पछि छानिएका निर्णायक हुन् उनी। मोडर्न कमेडी बुझ्ने र आफै कन्टेन्ट राइटर भएका कारण आएको अफर उनले केही साथीभाइमाझ सुनाए । ‘फ्रेन्चाइज भएको भए क्वालिटी राम्रो हुन्थ्यो, तर आफ्नै छ गाह्रो होला’ धेरैले यस्तै भनेका थिए प्रदीपलाई ।

यद्यपि विशालकै आग्रहमा उनी पुनः भेट्न गए । अनि उनले आफ्ना जिज्ञासा राखे । उनले सेटभन्दा पनि कन्टेन्ट क्रिएटरको बारेमा बुझें । ‘कन्टेन्ट राइटरको टिम राम्रो पाएपछि म शो गर्न सहमत भएँ र उनलाई पनि आफूले बुझेको जानकारी राखें,’ प्रदीप भन्छन्, ‘सायद त्यो टाइममा मैले बढी अड्काए कि जस्तो पनि लागेको थियो, तर मेरो कुराले उहाँहरु बढी सिरियस हुनुभएको भन्ने पनि लाग्छ ।’ उनले शो गर्ने सहमति दिँदासम्म अन्य सम्पूर्ण निर्णायकहरु अनुबन्ध भइसकेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १७:१८