८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

साढे चार करोडको लगानीमा शित भण्डार निर्माण


१३ भाद्र, तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका–९ साब्लामा कृषि शित भण्डार निर्माण गरिएको छ । जिल्लामा उत्पादन हुने कृषि उपजलाई व्यवस्थापन गर्ने उद्देश्यले शित भण्डार निर्माण गरिएको हो ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ सरकारको ३ करोड, किराँत याक्थुङ चुम्लुङ कृषि सहकारी सस्थाको १ करोड ३४ लाख र म्याङ्लुङ नगरपालिकाको १५ लाख गरी ४ करोड ४९ लाखमा शित भण्डारको निर्माण कार्य सम्पन्न भएको शित भण्डार निर्माण समितिका अध्यक्ष तेजमान कन्दङवाले बताए ।

स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य उत्पादन समयमै बजारमा पुर्‍याउन नसक्दा बारीमै खेर जाने तथा नष्ट हुँदा किसानको वर्षेनी लाखौ रुपैयाँको क्षति व्यहोर्नु परेको छ । शित भण्डारले यहाँका किसानहरुलाई निकै राहात मिल्ने स्थानीय कमल सुवेदीले बताए । १ हजार मेट्रीकटन तरकरी तथा फलफूल कोल्डस्टोर गर्ने क्षमता रहेको छ ।

बजारको अभावका कारण स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य उपज बिक्रीमा किसानले भोग्दै आएको समस्यालाई भण्डार निर्माणले राहात दिने स्थानीयहरुले आशा लिएका छन् । यहाँ उत्पादित बस्तुले स्थानीय बजारकै भर पर्नुपर्ने बाध्यतासमेत हट्ने अपेक्षा रहेको सुवेदीको भनाई छ । किसानले उत्पादन गरेको कृषि उपजलाई टाढाको बजार सम्म पुर्‍याउन सकिने भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार ०९:३१