१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

८ भदौ, काठमाडाैँ। आज रोपाइँ जात्रा । कृषिप्रधान देश नेपालका कृषकहरुको उत्सव । वर्खे बाली धानको रोपाइँ सकिएको खुसियालीमा रोपाइँ जात्रा मनाउने गरिन्छ । रोपाइँको थकान र तनाव भुल्ने अवसरका रुपमा यो जात्रालाई लिइन्छ । जात्रामा किसानको आयोजनामा गाउँभरका मान्छेहरु विभिन्न बाजा बजाउँदै धान रोपेजस्तै गरेर नृत्य गर्छन् ।

खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरु गाउँदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाइलो गर्छन् । जात्रामा धान खेतको असली मालिकलाई खेतभित्र हिलोमा डुबाउने चलन पनि छ ।

रोपाइँ जात्राको सुरुवात प्रताप मल्लको पालाबाट भएको बताइन्छ । चैत्य, वहाल र टोलका फलैंचाहरुमा स्थानीयहरु भेला भएर यो जात्रा मनाउने चलन छ । कोशी, कन्काईदेखि कर्णाली र महाकाली किनारसम्म आ-आफ्नै हिसाबले यो जात्रा मनाइन्छ । कर्णालीमा यसलाई चोपाई भनिन्छ भने केही ठाउँमा भुमेपाथी पनि भनिन्छ ।

काठमाडौंको बौद्धमा पनि स्थानीयवासीले हरेक वर्ष भव्यताका साथ रोपाइँ जात्रा मनाउने गरेका छन् । गाईजात्राको भोलिपल्ट पर्ने यो जात्रा मनाउन बौद्धमा मानिसहरुको भीड लाग्ने गर्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार ०९:३८