१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमालेका लागि १० बुँदे प्रस्ताव: कार्यान्वयन र विश्वासको सवाल


-माधव ढुंगेल

१. पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालको सहमति वमोजिम पार्टी भित्रको आन्तरिक समस्याको व्यवस्थापन गर्न १० जनाको कार्यदल वनाईयो । कार्यदलले वढो मिहिनेतका साथ दुई महिनाको भगिरथ प्रयासवाट १० वुंदे सहमति जुटायो ।

२. सहमति प्रति चित्त वुझे पनि नवुझे पनि आफुले गरेको निर्णय र आफुले खटाएका कार्यदलका सदस्यहरुले गरेको सहमति प्रति स्वामित्व ग्रहण लिदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको वैठकवाटै अनुमोदन गराउनु भयो तर माधव नेपालले स्वीकार गर्नु भएन ।

३. कमरेड माधव नेपालले स्वीकार नगरे पनि हामी यसको दायित्व लिन्छौं भन्ने दृढ अडानका साथ कमरेड भिम रावल, सुरेन्द्र पाण्डे, धनस्याम भुषाल, गोकर्ण विष्ट, रघुजी पन्त १० बुँदे सहमतिका पक्षमा उभिनु भयो जुन कदमलाई एमाले पक्तिले हृदयदेखि स्वागत गरेको छ ।

४. परिणाम स्वरुप हाल पार्टी विभाजन हुदा माधव नेपालको समुहमा रहेर क्रियाशील भएका कमरेड भिम रावल, युवराज ज्ञवाली, अष्ठलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, धनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भिम आचार्य, रघुजी पन्त, अमृत वोहरा सहिका दर्जनौं नेता कार्यकर्ताहरुले विभाजनको वाटो रोजेनन् । फेरि एक पटक पार्टी एकता चाहने लाखौं कार्यकर्ताहरुले यो कदमलाई हृदय देखि स्वागत गरेका छन् ।

५. अब आयो १० वुंदे सहमति कार्यान्वयनको कुरा:
केन्द्रीय कमिटीमा यो कार्यान्वयन भैसकेकोछ । यो एउटा नितान्त प्राविधिक सवाल मात्र होईन । यो राजनीतिक सवाल हो । जेष्ठ २ लाई टेक्नु भनेको एमाले पार्टीमा रहेर सकृय हुन चाहने यो वा त्यो जिम्मेवारीमा रहनु भएका कमरेहरुलाई पुरानो जिम्मेवारीमा फर्काउने वा उचित व्यवस्थापन गर्ने सवाल हो । यो काम पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीका वैठकमा उपस्थित भएर नै सम्भव छ ।

६. हाल पार्टीमा आएको समस्या र हामीले खेलेको भुमिका र गरेको कर्मको निर्मम समिक्षाको कठघरामा हामी साँधिनै पर्छ । हामी एमालेमा सकृय भएर जाने हो भने पार्टी र सरकारले गरेको कामको समीक्षाको नजर एउटै वनाउनै पर्छ । त्यो नजरमा सकारात्मकताको खोजि र व्याख्याको उच्च कोटीमा तपाईको प्रस्तुती अनिवार्य नै हुनेछ नत्र जनताको वीचमा जान सजिलो हुने छैन । अझ भनाैँ पार्टी अध्यक्ष केपी ओलीलाई सत्तो सराप गरेर पार्टी एकताको खोजी वा गति सम्भव छैन ।

७. पार्टी नेतृत्वको रक्षा र विश्वास विना हाम्रो यात्रा सुमधुर हुन सक्दैन । फेरि उस्तै समस्या खडा हुने हो भने एकताको सार्थकता पनि त रहदैन ।

८. त्यसैले,
क. हिजोको जस्त‍ो निशेधात्मक अन्तरविरोधको अन्य हुनै पर्छ ।
ख. पार्टी नेतृत्व प्रति विश्वास जागृत गर्नै पर्छ ।
ग. सवैको अविभावकत्व पार्टी नेतृत्वले दिनै पर्छ ।
घ. एकतावद्द विचार वनाएर पार्टी अध्यक्षले नेतृत्व गर्नु भएको सरकारको कामलाई तेज गतिका साथ जनस्तरमा पुर्याउनु पर्छ ।
ङ. १० वुंदे सहमतिको वैज्ञानिक ढंगले तल्लोसम्म कार्यान्वयन गरिनु पर्छ ।

यसका लागि यो अन्तरविरोधमा सामेल हुनु भएका पार्टी एकता चाहने १० वुंदे सहमतिका पक्षमा रहनुभएका कमरेडहरु वैठकमा आउनु पर्छ । पार्टीले स्वीकार गरेको १० वुंदेको सार्थक कार्यान्वयनमा सकृय भुमिका खेल्नु पर्छ तर अर्को क्याम्प र समुहको आभास दिने र फेरि पुरानै पुनरावृत्तिको आशंका जन्मने गरि प्रस्तत हुनु हुदैन ।
सकारात्मक प्रतिकृयाको लागि स्वागत गर्दछु ।

ढुंगेल एमालेका केन्द्रीय सदस्य हुन । 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १५:४३