१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पुरुषोत्तम ढकालको गीती भिडियो “मन मनमा नेपालीको नेपाल जगाइदेउ…” सार्वजनिक


१ भदाै, काठमाडौं। नेपाली डाएसपोराको सरोकार र सामाजिकीकरणको प्रक्रियामा निरन्तर क्रियाशील पुरुषोत्तम ढकालको गीती भिडियो सार्वजनिक भएको छ । “मन मनमा नेपालीको नेपाल जगाइदेउ…” बोलको गीत शनिवार एक समारोहविच लोकार्पण भएको हो । नायक धीरेन शाक्य र नायिका रीना थापामगरको मुख्य अभिनय रहेको यस गीतलाई नितिन चन्दले निर्देशन गरेका छन् । मातृभूमिको नाममा समर्पित यो गीत म्युजिक नेपालको युट्यूब च्यानलमा देख्न सकिन्छ ।

राप्रपा अध्यक्ष एवं पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा पूर्व प्रधानसेनापति रुक्मांगद कटुवाल, संगीतकार सुरेश अधिकारी, गैर आवासीय नेपाली अभियन्ता एवं सुपरलयर खगेन्द्र जिसीलगायतका अतिथिहरूको उपस्थिति थियो । समारोहमा राष्ट्रिय गीतका सर्जक ढकालका कला, साहित्य एवं पत्रकारिता यात्राको बारेमा चर्चा गरिएको थियो । विगत लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशिल ढकाल हाल अमेरिकाबाट संचालित नेपाल२४न्यूज डट कमका प्रमुख सम्पादक समेत हुन् ।

यस गीतमा नेपाल सानो देश, बहुलभाषा र बहुलसंस्कृतिको केन्द्र भएको र यहाँ विभिन्न जाति, भाषा, समुदाय र भेगअनुसारका लोक गीत, नृत्य र संगीतको अपार खजाना भएकोले तिनै लोक गीत, नृत्य र संगीतले नेपालीलाई जोडेको कथा प्रस्तुत गरिएको छ । मातृभूमिको नाममा समर्पित यस गीतका श्रष्टा ढकालले यसअघि कविता कृति ‘भगवानलाई प्रश्न’ नेपाली भाषामा र ‘बोर्डरलेस ड्रीम’ अंग्रजी भाषामा तथा अन्य फुटकर कथा र साहित्य कृतिहरू सृजना गरी प्रकाशन गरिसक्नु भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १८:१६