७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सदाचार प्रवद्धनमा कर्मचारीको कार्यसंस्कृति


-उदय रानामगर

सार्वजनिक सेवा जनता र सरकारलाई जोड्ने सम्बन्ध सेतुका रूपमा रहीआएको छ । सार्वजनिक सेवा दिनु गर्नु राज्यको दायित्व र प्राप्त गर्नु नागरिकको अधिकार पनि हो । जनतालाई अधिकतम सेवा दिनु आधुनिक राज्यव्यवस्थाको प्रमुख उद्देश्य हो । राज्यद्वारा प्रवाह गरिने सेवा नागरिकको रोजाइ, आवश्यकता, प्राथमिकता र राज्यको क्षमतामा भर पर्छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउनका लागि भएको अन्तर्राष्ट्रिय प्रयासलाई हेर्ने हो भने बेलायतमा नागरिक बडापत्र तथा सर्भिस कुपनको व्यवस्था छ भने जर्मनमा पिपुल्स बोनस जस्ता औजारहरूको प्रयोग गरिएको छ । त्यसैगरी स्वीडेनमा स्ट्रिड ब्युरोक्रेसी तथा अमेरिकामा स्टेट फरगिभनेस कार्डद्वारा सेवालाई प्रभावकारी गर्ने प्रयास गरेको छ ।

नेपालमा पनि सेवा प्रवाहलाई प्रभावकारी बनाउनकै लागि घुम्ती सेवाको सन्चालन गरिदै आएकोछ । साथै प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनिक निकायलाई नैतिक, सक्षम, सुदृढ, उत्तरदायी र व्यवसायी बनाउने, क्षमता विकास गर्ने तथा निजामती सेवालाई प्रतिस्पर्धी, उत्तरदायी र जवाफदेही बनाउन विभिन्न प्रयासहरु हुदै आएको छ । तथापि सेवा प्रवाहमा बढी प्रियतावाद हुन खोज्ने प्रवृत्तिले यो जनअपेक्षाअनुरूप हुन सकेको छैन । सार्वजनिक प्रशासनमा सम्लग्न पदाधिकारीको सदाचारितामा आएको ह्रासको कारणले गर्दा सार्वजनिक सेवा प्रति प्रश्न चिन्ह खडा भएको छ ।

सदाचारिता प्रवद्धन गर्न सेवा प्रदायक मात्र नभई सेवाग्राही पनि सहज र सचेत हुन आवश्यक हुन्छ । ग्रिसका चिन्तक सुकरातको अनुसार सेवाग्राहीले सार्वजनिक सेवा प्रदायकसंग जति प्रश्न गर्न सक्यो त्यति नै सदाचार सबल हुन्छ भन्ने छ । उनको यो सिद्धान्त अहिले पनि त्यतिकै सान्दर्भिक रहेको छ सचेत सेवाग्राही भएका क्षेत्रमा सदाचारीता अन्य क्षेत्रको तुलनामा प्रबल रहेको देखिन्छ भने सोझा र प्रश्न गर्न नसक्ने सेवाग्राही बढी रहेका क्षेत्रमा सदाचारिता नै चेपुवामा पर्ने गरेको अनुभव छ । सदाचारिता कायम गर्न र गराउनको लागि कार्यसस्कृतिको ठूलो भूमिका हुन्छ ।

सार्वजनिक पदमा रहेका पदाधिकारीमा उत्तरदायित्व, सक्षमता, नैतिक मूल्यमान्यतालाई आत्मासाथ गराउने वातावरण भएको खण्डमा सदाचार कायम गर्न सकिन्छ । नेपालको सन्दर्भमा सदाचारिता खस्कदो अवस्थामा छ भन्ने कुरा विभिन्न अध्ययनले पनि देखाएको छ । यो अवस्थाले गर्दा नेपालको सार्वजनिक प्रशासन प्रति जनताको भरोसा टुटेको अवस्था छ । सेता यूनिफर्म लगाएका कर्मचारी देख्दा नै नाक खुम्च्यिाउने अवस्था बनेको छ । जो व्यक्ति प्रति आस्था र भरोसा टुट्छ त्यसले जतिसुकै राम्रा काम गरेपनि त्यसलाई शंकाको घेरामा राखेर हेर्छन् । यसैको फलस्वरुप सार्वजनिक सेवा प्रवाह राम्रा कहलिएका कार्यालयहरु प्रति पनि सेवाग्राहीको धारणा उस्तै रहने गरेको छ ।

हुनतः कर्मचारीहरुका पनि विभिन्न समस्या छन् तर पनि यस्तै परिस्थितिमा पनि उच्च कार्यसम्पादन गर्ने प्रतिबद्धताका साथ सेवा प्रवेश गरेका कर्मचारीले जस्तो सुकै परिस्थितिमा पनि आफूलाई अव्वल सावित गर्न सक्नुर्छ । त्यसको लागि सेवा प्रवाहमा नविनतम विधि प्रक्रिया, शैलीको अनुशरण गर्नुपर्दछ । कर्मचारीको कार्यशैलीकै कारण आज विद्यमान प्रणाली प्रभावकारी हुन सकेको छैन । कर्मचारीको कार्यशैलीबाट कार्यसस्कृतिको विकास हुने गर्दछ । त्यसकारण पनि कर्मचारीको कार्यसस्कृति सुधार कार्य गर्न आवश्यक छ । कर्मचारीको कार्यसस्कृतिमा प्रभाव पार्ने तत्वहरुको पहिचान गर्न आवश्यक हुन्छ । त्यस्ता तत्वहरुमाः राजनीतिक, आर्थिक, कानुनी, प्रशासनिक तथा, सूचनाको उपलव्धतताको अवस्था जस्ता पक्षहरु पर्दछ ।

यी तत्वहरुलाई अवलोकन गर्दा यि पक्षहरुले कर्मचारीको कार्यव्यहार र कार्यसस्कृतिमा पर्याप्त मात्रामा प्रभाव पार्दै आएको देखिन्छ । कर्मचारीको कार्यसस्कृतिको कारण सेवा प्रवाह प्रभावकारी हुन नसकेको अवस्था छ । त्यसको मूख्य कारणहरुमाः कर्मचारीको मनोबल गिर्दो हुनु, कर्मचारीलाई पर्याप्त मात्रामा तालिमको अभाव हुनु, सूचनामा पहुचमा कमि हुनु, सहभागितामूलक निर्णय प्रणालीको अभाव, सेवाग्राहीसंग पृष्टपोषण लिने प्रणालीको अभाव रहनु, सदाचारी आचरण नहुनु, गलत कार्यबाट पाठ सिक्ने प्रणाली भएन, पद्दी र प्रणालीले काम नहुदा नेतृत्वको विकास गर्न नसकिनु, समकक्षिसंग अन्तरक्रिया गर्ने प्रणाली नहुनु जस्ता पक्षहरुले कर्मचारीको कार्यसस्कृतिलाई प्रभाव पार्दै आएको छ । यसबाट कर्मचारीको मनोवल गिर्दो छ । गिर्दो मनोवल भएका कर्मचारीबाट सम्पादीत सेवावाट जनताको मन जित्न सकेको छैन ।

सदाचार प्रवद्धन गर्नका लागि विद्यमान कानुनी व्यवस्था नभएको भने होइन । नेपालको नयां संविधानको प्रस्तावनाले जनतालाई सार्वभौम शक्ति मानेको छ भने संविधानको मार्गदर्शक सिद्धान्त र नीतिहरुले राज्यलाई जनमुखी वनाउन मार्गनिर्देश गरेको छ । सविधानको धारा ५१ (ख) को (४) मा सुशासन कायम गर्ने कुरा उल्लेख छ भने धारा ५०(४) मा अन्तराष्ट्रिय सम्वन्धका कुरा उल्लेख छ । सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन २०६४ को दफा ६ मा आचरणको पक्ष र आधारहरु स्थापित गरेको छ । निजामती सेवा ऐन २०४९ को दफा ७ मा कर्मचारीको आचरण र दण्ड सजायको व्यवस्था गरिएको छ । भष्ट्रचार निवारण ऐन २०५९ मा भष्ट्रचारजन्य कार्यमा दण्ड सजायको व्यवस्था गरेको छ । तथापि कर्मचारीको सदाचारितामा सुधार भएको छैन । यसले कर्मचारीको कार्यसस्कृतिमा सुधारको खांचो छ भन्ने औल्याउदछ ।

कर्मचारीको कार्यसस्कृतिमा सुधार गरी सदाचारिता प्रवद्धन गर्नका लागि केही पक्षहरुमा कर्मचारी आफै सुधारिनु पर्ने देखिन्छ भने केही पक्षमा कार्यालयले नै जिम्मेवारी लिनुपर्छ । कार्यालयको तर्फबाट कर्मचारीको कार्यशैली सुधारका लागि प्रत्येक महिनाको कुनै एक दिन स्टाप बैठक राख्ने र सवै कर्मचारीको कार्यसम्पादनमा भोगेका समस्याहरु सुन्ने र त्यसलाई व्यवस्थापन गर्न संयूक्त रणनीति बनाउनु पर्छ । कर्मचारीको मनोबल उकास्नको लागि उपलव्ध सेवा सुविधा वितरणमा समानता कायम गर्न सक्नु पर्छ । प्रत्येक आ.वको अन्त्यमा कर्मचारीको ३६० डिग्रीको मूल्याकंन बिधिको आधारमा उत्कृष्ट कर्मचारीको छनौट गरीनुपर्छ । यसो हुदा कर्मचारी मूल्याकंनमा समानता कायम भै कर्मचारीमा दण्ड र पुरस्कार प्रति विश्वास जागी मनोबल बढ्न जान्छ ।

यो मूल्याकंनबाट उत्कृष्ट ठहरिएको कर्मचारीलाई निजामती सेवा पुरस्कारका लागि मन्त्रालयमा सिफारिस गरिनुपर्दछ । सेवाग्राहीको पृष्टपोषण नियमित रुपमा लिनको लागि गुनोसो संकलन र अभिलेखन गर्नेे र त्यसको आधारमा सुधार गर्नु पर्छ । कार्यालयको कामलाई अधिकतम् रुपमा प्रविधिमैत्री बनाई अनलाईन सेवा दिनुपर्छ । सेवाग्राहीले सेवा दिइसकेपछि धन्यबाद दिने कार्यको सुरुवात गर्नुपर्छ । सेवाग्राहीमा सेवा बितरणको प्रक्रिया बारेमा श्रव्यदृष्य मार्फत जानकारी गराउने जस्ता सुधारको योजना लागू गर्नपर्छ साथै यसको निरन्तर अनुगमन तथा मुल्याकंन गर्नु पर्छ ।

यसका अतिरिक्त कर्मचारी आफैले सुधार गर्नुपर्ने पक्षहरु पनि छन् । कर्मचारी नै सरकारको एैना भएको हुदा कर्मचारीले सेवाग्राहीसंग गर्ने व्यवहारबाट नै सरकार प्रतिको धारणा बन्ने गर्दछ । त्यसकारण पनि कर्मचारी स्वयमले सेवा दिदा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिनु बुद्धिमत्तापूर्ण हुन्छ । कार्यालयमा सेवा लिन आउने प्रत्येक सेवाग्राहीलाई नमस्कार गर्ने बानी बसाल्नु पर्दछ ।

कर्मचारीको कार्यशैली परिवर्तन गरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई म तपाईलाई के सहयोग गर्न सक्छु (मे आइ हेल्प यू) ? भनेर सोधेर उक्त सेवाग्राहीको कार्य गरिदिने सस्कारको अवलम्वन गर्नुपर्दछ । कार्यालयमा सिर्जना भएको सूचनाहरुलाई प्रत्येक दिनको सुन्य समयमा आदान प्रदान गर्ने कार्यलाई अनुसरण गर्नुपर्दछ । कार्यालयको लगबुकमा नियमित रुपमा आफ्नो बारेमा जानकारी लिपिबद्ध गर्ने र सोको जानकारी सेवाग्राहीलाई समेत दिन आफ्नो शाखाको सूचनापाटीमा उक्त जानकारी राख्ने सस्कारको विकास गरिनुपर्दछ ।

साथै भनिन्छ टाडा जानु छ भने साथीसंगै हिड्ने गर्नुपर्दछ र नजिकै जानू छ भने एक्लै हिडेको खण्डमा पनि गन्तव्यमा पुग्न सकिन्छ । यहि भनाईलाई आत्मासाथ गर्दा पनि सार्वजनिक प्रशासनमा सदाचार प्रवद्धन गर्न कार्यमा हामी कसरी अगाडि बढ्ने भनेर आकलन गर्न सकिन्छ । नेपालको सार्वजनक प्रशासनमा सदाचारिता कायम गर्ने गन्तव्य टाडा छ त्यसैले पनि राजनीतिक नेतृत्व, नागरिक समाज, जनता, सन्चारकर्मि र सार्वजनिक प्रशासनमा कार्यरत सवै कर्मचारीहरु संगै मिलेर अघि बढेको खण्डमा सार्वजनिक प्रशासनमा रहेको सदाचारिता माथिको प्रश्न चिन्हलाई केही हदसम्म निप्टारा गर्न सकिने र सो कार्यले सरकार र जनता वीचमा खलवलिएको सम्वन्धलाई प्रगाढ बन्न सहयोग पुग्न जाने आशा गर्न सकिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ११:१९