४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि कृषक उत्साहित


२२ साउन, बनियानी । धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित बनेका छन् । ड्रायर मेशिन भित्रिएपछि चैते धान सुकाएर भण्डार गर्न र राम्रो मूल्य पाइने भएपछि यहाँका कृषक उत्साहित बनेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत लागत सहभागितामा गौरादह नगरपालिका–५ स्थित नमूना एकीकृत कृषि सहकारी खेतीलाई एउटा ‘मुभेबल’ (यताउता लान÷सार्न मिल्ने) ड्रायर मेशिन प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष वेदनिधि चापागाईंले ड्रायर मेशिन पाएपछि धान सुकाउन सहज भएको बताए । “चैते धान नबिक्ने र मूल्य नपाउने समस्या छ”, उनले भने, “यो पटक धानको भाउ घटेर प्रतिमत रु ५०० मा प्रतिमन बेच्नुपर्ने अवस्था आयो, धान सुकाएर राख्दा दुई÷तीन महिनापछि रु एक हजार सहजै पाउन सकिन्छ ।”

झापामा चैते धानका लागि ड्रायर मेशिनको धेरै आवश्यक रहेको उनको भनाइ छ । समूहअन्तर्गत यहाँका किसानले ८० बिघामा चैते धान खेती गर्दै आएका छन् । “कृषिमा व्यावसायिकीकरण गर्ने उद्देश्यले पनि हामीले सामूहिक खेती सुरु गरेका हौँ”, उनले भने, “जग्गाअनुसार धान दिने र काम गर्ने कृषकले ज्यालासमेत पाउनुहुन्छ ।” गत वर्ष चार हजार मन धान उत्पादन गरिएको अध्यक्ष चापागाईं बताउछन् ।

गौरादह–५ कै कृषक अर्जुन खतिवडा वर्षा–झरीका बेला चैते धान भित्र्याउनुपर्ने भएकाले पनि समस्या हुने गरेको बताउछन् । धानको संरक्षण र भण्डारण गर्न सक्दा बजार भाउ नपाइने उनले बताए । उनले भने, “धान सुकाएर राख्दा ३० देखि ४० प्रतिशत मूल्य बढी पाइन्छ, यसले चैते धान लगाउने कृषकलाई प्रत्यक्ष र ठूलो राहत मिल्नेछ ।”

चैते धानमा चिस्यान धेरै हुने भएकाले भण्डारण गर्न सकिँदैन त्यसैले सस्तो–महँगो जति भए पनि धान बेच्नुपर्ने बाध्यता रहेको कृषक बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ झापाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले नमूना एकीकृत कृषि सहकारी खेतीलाई ड्रायर मेशिनमा ५० प्रतिशत र पोष्टहार्वेस्ट निर्माणका लागि ८५ प्रतिशत अनुदान दिइएको जानकारी दिए ।

परियोजना कार्यान्वयन एकाइले ड्रायर मेशिनका लागि रु २० लाख, पोष्टहार्वेस्ट निर्माणका लागि रु २० लाख अनुदान दिएको हो । उक्त ड्रायर मेशिनबाट धानका साथै मकै पनि सुकाउन मिल्छ । “मेशिनको सफलता हेर्न बाँकी छ”, वरिष्ठ कृषि अधिकृत सुवेदीले भने, “राम्रो भयो भने कृषकले लाभ पाउनाका साथै चैते धान खेती विस्तारमा समेत सहयोग पुग्छ ।”

उनका अनुसार चैते धानमा ३०÷३५ प्रतिशत चिस्यान हुन्छ, धान भण्डारण गर्न १८ प्रतिशतभन्दा कम र बीउका लागि १२ प्रतिशतसम्म चिस्यान हुनुपर्छ । उनले भने, “ड्रायर मेशिनले धान सुकाएर दुई÷चार महिनासम्म भण्डारण गरेर राख्न सकिन्छ, कृषकले पर्खेर राम्रो मूल्यमा बेच्न पनि सक्छन् ।” यस पटक पनि झापाको गौरादहबाट चैते धानले उचित मूल्य नपाएको गुनासो आएको उनले बताए ।

झापामा सुपरजोनअन्तर्गत चैते धानको क्षेत्र एक हजार ५०० बिघाबाट बढेर दुई हजार १०० बिघा पुगेको परियोजना कार्यान्वयन एकाइले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १०:५१