१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेपाली युवाको हत्या हुँदा पनि भारतीयकै बचाउमा उत्रियो देउवा सरकार (विज्ञप्तिसहित)


१६ साउन, काठमाडौँ । एक जना नागरिकको ज्यान लिनेगरी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर नदीमा खसालेर हत्या गर्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार भने उल्टै भारतीयको बचाउमा देखिएको छ । परराष्ट्रमन्त्री समेत रहेका देउवासँगको परामर्शमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको विज्ञप्तिमा प्रकाशित समाचारहरूप्रति आपत्ति जनाइएकोमात्र छैन घुमाउरो भाषामा धम्की समेत दिइएको छ ।

सरकारले आफ्नै नागरिकलाई तुइन काटेर महाकालीमा बेपत्ता बनाउँदासमेत जिल्ला प्रशासन कार्यालयमार्फत भारतीयकै बचाउमा बिज्ञप्ती जारी गर्नु घोर आपत्तिजनक रहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीले आज बिज्ञप्ती जारी गर्दै एसएसवीले तुइन काटेर नेपाली युवा जयसिंह धामी महाकालीमा बेपत्ता भएको भन्ने समाचारप्रति आपत्ति जनाइएको छ ।

भारतीय एसएसबीको अपराध ढाकछोप र उसैको बचाउँ गर्दै जारी बिज्ञप्तीमा भनिएको छ, २०७८/०४/१५ गतेका दिन यस जिल्लाका ब्याँस गाउँपालिका वडा नम्बर २ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका ब्यक्तिहरु भारततर्फको बाटो हुँदै सदरमुकाम दार्चुला खलंगा आउने क्रममा ब्याँस गाउँपालिका वडा नं २ माल बस्ने बर्ष ३३ का जयसिंह धामी तुइनबाट तर्दै गर्दा भारतीय एसएसवी का जवानले तुइन काटी दिएकोले निज जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी बिभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सूचनारसमाचारप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रत्यक्षदर्शीले एसएसबीले तुईन काटेर महाकालीमा बेपत्ता बनाएको बयान दिइरहेको र भिडियोसमेत आइसकेको अवस्थामा भारतकै बचाउमा सरकार लाग्नुले शंका उत्पन्न भएको छ । तुइन प्रकरणस् प्रत्यक्षदर्शीहरुको बयान तारन्तार सञ्चारमाध्यम मार्फत सार्वजनिक भएकै छन । पीडित पक्षले नेपाली मात्र होइन,भारतीय प्रशासनमा पनि घटना छानबिन र दोषी उपर कारवाहीको माग राख्दै निवेदन दिएका छ्न ।

सरकारको विज्ञप्तिले पीडितलाई झनै पिडा थपेको छ। आलो घाउमा नुन, चुक दलिदिएको छ । मिडियालाई त अप्रत्यक्ष रूपमा धम्क्याइएको छ नै दुई देशको सम्बन्धको हवाला दिदै सर्बसाधारण नागरिकलाई पनि जे पायो त्यहि अभिव्यक्ति नदिन भनिएको छ। प्रमाण के छ भन्दै प्रश्न सोधिएको छ। विज्ञप्तिप्रति आक्रोश पोख्दै पत्रकार राजेन्द्र नाथ लेख्छन, ‘प्रमाण के छ भन्दै प्रश्न सोधिएको त्यो बिज्ञप्ती दार्चुला प्रशासन कार्यालयमा नभएर भारतीय राजदुतावासमा तयार पारिएको जस्तो छ। यस्तो बिज्ञप्तीलाई सबैले एक नजरमै खारेज गरौं। “नेपाल- भारत सम्बन्ध” का लागि कति जना जयसिङ धामिहरुले महाकालीमा आहुती दिनुपर्ने हो? शासकहरुलाई प्रश्न गरौं। यस्तो असमान सम्बन्ध, व्यबहार र आततायी घटनाको डटेर बिरोध गरौं।’

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार २०:१७