११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेपालमा अल्फा, डेल्टापछि भेटियो कोरोनाको कप्पा भेरियन्ट, सतर्क हुन मन्त्रालयको आग्रह


१२ साउन, काठमाडाैँ । नेपालमा कोभिड-१९ को डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा, डेल्टापछि कप्पा भेरियन्ट देखिएकाे पुष्टि भएको छ ।

नेपालमा अहिले पछिल्लोपटक भेटिएको भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने मन्त्रालयले जनाएकाे छ ।

“त्यसैले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा जनाइएकाे छ ।

जेठको मध्येदेखि असारमसान्तसम्म देशका विभिन्न भागहरुमा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४७ वटा नमुनाहरु भारतमा पठाइएको थियो । परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १९:०१