दैनिकी

  • ११ श्रावण २०७८, सोमबार ०९:००

माफीयाबाट पालित पोषित र समर्थित मन्त्री

-डा युवराज संग्राैला 

मन्त्री भन्ने बितिकै अब त त्यो मानिस बदमास हो भन्ने मनोबिज्ञान बनिसके छ । किन यस्तो मनोबिज्ञान बन्यो होला ? को मन्त्री बन्यो वा बनेन भन्ने कुरा महत्त्वपूर्ण होइन अब, सोच्नु पर्ने कुरा के हो भने रास्ट्रको राजनीतिमा भ्रस्टाचारको अवस्था कति गम्भीर भएछ ! किन मान्छे मन्त्री बन्न दौड्धुप गर्छ नेपालमा ? यस्को उत्तर दिन अब गाह्रो रहेन।

१. नेपालमा पञ्चायतका ३० बर्षमा मन्त्री हुनु भनेको, त्यो मानिसलाई राजाले चिनेको छ भन्ने अर्थ लाग्थ्यो । अनि के फाइदा हुन्थ्यो र राजाले चिन्दा ? उत्तर सोझो छ, त्यो पदले त्यो ब्यक्तिको साख वा हैसियत ठूलो हुन्थ्यो। तेस्लाइ भ्रस्टाचार गर्ने अवसर प्राप्त हुन्थ्यो, सिडियो र अंचलाधिशलाई भनेर आफुलाइ समर्थन गर्ने पन्चको संरक्षण गर्न सजिलो हुन्थ्यो। अर्थात मन्त्री भनेको रास्ट्रको संपती, आय, श्रोत, राजस्व आदिमा लुट गर्ने प्रमाणपत्र थियो, तेसबेला। राजतन्त्रको कन्तबिजोग तेसैले पार्यो।

२. पंचायतको मध्यतिर पढेलेखेका बिज्ञहरु मन्त्री बने, र केही बिकासका राम्रा अभ्यासहरु देखिए जस्तै पुर्वमा चियाखेती, देशभरी स्कुल कलेज, कृषिमा आधुनिकरण, इत्यादि केही हद्सम्म फस्टाए। तर यस्ता बिकासले एउटा चुनौती ल्यांउदो रहेछ। त्यो हो मानिसको चेतना। तर पंचायत र दरबारलाई त्यो मनपर्दो रहेनछ। पंचायतको पछिल्लो समयमा मन्त्री भनेको जोकर हो भन्ने अर्थ लाग्न थाल्यो। र, भ्रस्टाचार गर्ने, चतुर/धुर्त, गंवार र लोकतन्त्रलाई सराप्न जान्ने मन्त्री हुन्छ भन्ने मनोबिज्ञान निर्माण भयो।

३. एउटा मन्त्रीमन्डल थियो जसप्रती मानिसको श्रद्धा थियो। त्यो मन्त्रीमन्डलले सिङ्गो रास्ट्रको स्वरुपको प्रतिनिधित्व गरेको भान हुन्थ्यो। त्यो मन्त्रीमन्डल २०४७ को अन्तरीम मन्त्रीपरिषद थियो। देबन्द्रराज पाण्डे, डा. मथुरा श्रेष्ठ, शहाना प्रधान जस्ता र प्र.म. कृष्ण प्रसाद भट्टराईको ब्यक्तित्वले सरकारको ओज निर्माण गरेको थियो।

४. अहिले सम्म आइसक्दा मन्त्रीको पद भनेको लुट्ने, पार्टी र आफ्नो लागि कमिसन लिने, ठेक्काबाट कमिसन लिने, मन्त्रालयको बजेट लुट्ने, आफ्ना नातेदार र झोले कार्यकर्तालाई जागीर दिने, बैठकका नाममा महँगो होटलबाट खानाखाजा मगाएर खाने, हेलिकप्टर चड्ने, र मन्त्री भएको दुइतिन महिनामा रातो रसिलो देखिन चाहानेले खाने लामो छोटो जागीर हो भन्ने बुझिन्छ।

५. अहिले मन्त्री हुने ले केही अर्थ बतांउछ। मन्त्री हुने मानिस प्रधानमन्त्रीको गुटको नजीकको मानिस हो, त्यो पार्टीभित्र सेटिङ्ग मिलाएर ब्यापारीबाट कमिसन लिन सिपालु छ, तेस्ले पार्टीलाई ठूलो चन्दा दिएको छ, तेस्को बिदेशी संङ्ग लेन्देन तथा बसउठ छ, त्यो बिदेशीको जासुस हो, त्यो भ्रस्त हो, र लम्पट छ भन्ने बुझिन्छ। एकाद मानिस यसभित्र मुल्यमान्याता बोक्ने झुक्किएर पर्लान तर अधिकांश चाकरी, सेटिङ्ग, नेताको बाध्यता बाट आंउछ्न।

६. मन्त्री हुन चाहानेले जे पनि गर्छ। के के गर्छ ? अनेक नामका संगठनका मुस्तन्डको प्रयोग गर्छ दवाब निर्माण गर्न, पार्टी भित्र नेताको भन्सुन गराउंछ, चन्दा दिने कमिसनखोर ब्यापारीबाट लबिङ्ग गरांउछ, दोग्ला बुद्धिजीबी र बिकाउ पत्राकारको सहयोगले दवाब सिर्जना गर्छ र पार्टी भित्र आफै गुटको प्रतिनिधित्व गर्छ। यस्ता मानिसले गर्ने मकारीको सिमा हुँदैन।

७. यिनै कुरा अहिले जनताले बुझेका मन्त्रीका चेहरा हुन। मन्त्री हुनु राजनीतिको एउटामात्र लक्ष हो। भोटमाग्दा नै मैले जिते भने मेडिकल कलेजको लाइसेन्स, कयासिनो लाइसेन्स, होटलको लाइसेन्स, एयर्लाइन्सको लाइसेन्स, पल्टिङ्गका लागि सार्बजनिक जग्गा दर्ता अनेक कुराको भरोसा दिएर चन्दा लिएको हुन्छ। त्यो ब्यक्ति मन्त्री हुन्छ जो माफीयाबाट पालित पोषीत र समर्थीत हुन्छ।

केही समय पहिला चिनको एउटा काउन्टीबाट डेपुटीहरुको निर्वाचन हुँदा केहिले आफ्नो जीत सुनिस्चित गर्न प्रत्यासीलाई पैसा दिएर उम्मेद्बारी नदिने बनाएछ्न। एउटाले तेसो गरेपछि अर्को पनि तेसो गर्न बाध्य भएछ। चिनियाँ भ्रष्टाचार उन्मुलन ब्युरोले जाँच गर्दा ३०/४० जना यस्ता डेपुटी फेला पारेछ। केही जेल गए, केहिले म्रुत्यु दण्ड पाए।

जापानमा एक जना प्राध्यापकले एउटा लेख लेखे एउटा मन्त्रीले राजीनामा दियो, डेनमार्कमा कानुनमन्त्रीले भने मेरो त साइकल मात्र छ गाडी छैन, म आफैले त्याहाको प्रधानमन्त्री ग्रोसरीमा खानेकुरा किन्न आएको देखें, संसारमा मिल्ट्री पोसाक र राइफल लिएर मन्त्री हिंडेको देखएको छैन, होला सिरिया लेब्नान जस्ता देशमा होला। अहिले नेपालमा मन्त्री कस्ता मान्छे हुन्छ्न देख्नै भएको छ। यो सबै राजनीतिमा बिचारधाराको पतन, राजनीति ब्यापार र जागीर र लुटन्त्रको प्रेमी प्रेमीका भएको कारणले भएको हो। तपाईंलाई राम्रो देश मनाउने बिचार छ भने यो फोहोर बढार्ने चेत खुल्नु पर्छ झोले हुने होइन। नेपाल जिन्दावाद ।

(पूर्व महान्यायाधिवक्ता डा संग्राैलाले फेसबुकमा प्रस्तुत गर्नुभएको विचार सान्दर्भिक भएकाले यहाँ प्रस्तुत गरेका हाैँ ।–सम्पादक)

प्रकाशित मिति: ११ श्रावण २०७८, सोमबार ०९:००