१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बेलकोटगढी नगरपालिका वृतान्त (छन्दमा)


-शम्भु गजुरेल

पूर्वको साँधमा प्यारो ककनी गाउँ पालिका
सिमा उत्तरको तादी कोल्पुले छेक्छ दक्षिण।।१।।

पश्चिम् किनारमा बग्ने त्रिशूली स्वच्छ कल्कल
हिउँको ज्योति टल्केर बेल्कोट बन्छ झल्मल।।२।।

आरुखर्क र भञ्ज्याङ शेरा गोल्मा पुछारमा
वडा नम्बर हो एक चिम्टेश्वर सिरानमा।।३।।

तामाङको ठुलो बस्ती छेत्री बाहुन न्यून छन्
थोरै छ जनसंख्या नि सबै मिलेर बस्दछन्।।४।।

सानो भूगोल बेशीको गर्मी हुन्छ असारमा
अन्य भू भाग ठण्डा छ पर्छ लेक कछाडमा।।५।।

बेतिनीको टाउकोको श्रीपेच खर्क चौर हो
चुत्रो काफल ऐसेलु भञ्ज्याङको प्रेम हो।।६।।

माध्यामिक शिक्षाको बिद्यालय छ गाउँमा
बिजुली जल बाटोको प्राप्ति देखिन्छ गाउँमा।।७।।

पशु पालेर बस्नेको यहाँ राम्रो जमात छ
फाट्टफुट्ट चिया बेच्ने कतैकतै दुकान छ।।८।।

औषधिको र डेरीको व्यापारमा अपार छ
फोगटा खेतको खेती स्वच्छताको बहार छ।।९।।

किवीको योग्य माटो छ हावापानी सुरम्य छ
ढोका कैलाशको हो यो पावन अति भव्य छ।।१०।।

वडाको तालुमा बस्दै आँखा जता डुलाउछु
प्यारो सगरमाथा वा माछापुच्छ्रे म पाउँछु।।११।।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार १७:०३