११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

एमाले नेकपा हुँदै एमालेसम्म र एकअर्काको आममाफी


-माधव ढुंगेल 

१. एमाले र माओवादी एकता पछि पार्टीको एकता महाधिवेशनसम्म सहमतिका साथ निर्णय लिने सहमति उलंघन गरेर कमरेड प्रचण्डले आफ्नो अनुकुलता ठानेर वहुमत अल्पमतको खेल शुरु गर्नु भयो ।

२. कमरेड वामदेवले कोल्टे फेरे पछि सचिवालयमा अनुकुलता देखेर प्रचण्डको नेतृत्वमा झलनाथ खनाल,माधव नेपाल,वामदेव गाैतम र नारायणकाजीले पार्टी अध्यक्ष माथि (राजनीतिक जीवनको समाप्त हुने गरि) संगीन आरोप सहित १९ पेज लामो आरोप पत्र प्रस्तुत गर्नु भयो ।

३. पार्टी अध्यक्षले पाैष ४ गते यस्तो आरोप फिर्ता लिन प्रचण्डलाई विशेष अनुरोध गर्दा पनि नमाने पछि आफ्नो राजनीतिक जीवनको रक्षा र लोकतान्त्रिक व्यवस्थाको मूल्य वचाउका नीमित्त सार्वभौम जनता माझ जानू उपयुक्त ठानी पाैष ५ को संसद विघटन प्रधानमन्त्रीको एउटा वाध्यात्मक कदम वन्न पुग्यो ।

४. देशको कार्यकारी प्रमुख प्रधानमन्त्री वाहेक अरु कसैले संसदको विघटन गर्न सक्दैन । कार्यकारी प्रमुखलाई चारैतिर घेरावन्दी गरेर अप्ठ्यारोमा परेपछि जनता गुहार्न पाउने अर्थमा नै संसद विघटनको सम्भावना संविधानले स्वीकार गरेको हुनुपर्छ ।

५. सर्वोच्चले पुनस्थापनाको व्याख्या गरेपछि परिस्थितिमा नयाँ पन आयो । फाल्गुन २३ मा सर्वोच्चको फैसलाले एमाले र माओवादीलाई फरक फरक वनाए पछि एमालेका नेताहरुको फुटेको मन एकाएक मिल्ने अवस्था थिएन । माओवादी तर्फका एकीकृत पार्टीका २३ जना केन्द्रीय नेताहरु एमालेमै वस्न तयार हुनुभयो । यो परिस्थितिमा फाल्गुन २८ को वैठकले सर्वाेच्चको फैसलालाई कार्यान्वयन गर्नु र एकतामा समेटिएकाहरुलाई व्यवस्थापन गर्नु मूल दायित्व थियो र २६४को केन्द्रीय कमिटी कायम गर्ने अवस्था आयो । यो वैठक र यसले गरेका निर्णयहरु लाई अर्को पक्षले स्वीकार गरेन ।

६. ठिक वेठीक आफ्नै ठाउँमा छ तर अनुशासनका कार्वाहीका सृंखला चलिरहे । यो द्वन्द्व शुखद कुरा थिएन ।

७. जब पछिल्लो समय पार्टी अध्यक्ष केपी ओली र माधव नेपाल वीच मेरियट होटलमा साँढे ४ घण्टा भेट भयो र १० सदस्यीय कार्यदल वने पछि पार्टी पंक्तिमा ठूलो उत्साह छायो र पार्टी फुटाउन चाहने शक्ति निरास भैसकेका थिए ।

८. कार्यदल सकृय थियो कार्यदलले आफ्नै किसिमले काम गरिरहेको थियो । कर्णालीमा पार्टी निर्णय विपरीत गतिविधि गर्नेहरुलाई हाकाहाकी संरक्षण, राष्ट्रिय सभाका उम्मेदवार रामवहादुर थापालाई हराउन प्रत्यक्ष भुमिका, लुम्बिनीमा पनि पार्टीको उम्मेद्वार हराउनु, आफ्नै पार्टीको प्रधानमन्त्रीले विस्वासको मत माग्दा मतदान वहिस्कार गर्नु आदि पार्टी अनुशासन उलंघनका दर्दनाैं धटनाहरुको घेराकावीच फेरि सम्विधानको व्यवस्थालाई टेकेर संसद विघटन गर्ने परिस्थिति निर्माण भयो ।

९. संविधानको व्यवस्था वमोजिम जनतामा जाने र जनतावाट अनुमोदित हुने वाटो रोजिएको विषयलाई प्रतिगमनको संख्या दिँदै एमालेका २६ जना समेत जोडिएर १४९ को हस्ताक्षर वोकेर सितलनिवास, २३ जना एमाले संसद सहित १४६ को हस्ताक्षर वोकेर सर्वोच्च गुहार्न जानेखालका कामहरु भए ।

९. यी सवै घटनाहरुका वावजुत फेरि गरिएका कार्वाही फिर्ता गरेर कमरेड माधव नेपालको प्रस्ताव वमोजिम कार्यदललाई सकृय वनाईयो र कार्यदलले २ महिना लगाएर वनाएको १० वुंदे पार्टी एकताको प्रस्ताव तयार गर्यो तर त्यो प्रस्तावलाई माधव नेपालले सहज स्वीकार गर्नु भएन ।

१०. परिणाम स्वरुप फेरि सर्वोच्चद्वारा संसद पुनःस्थापना र शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउने परमादेश जारी गर्यो । छँदाखाँदाको आफ्नो पार्टी नेतृत्वको सरकार कांग्रेसको नेतृत्वमा जिम्मा लगाउँदा गर्भकासाथ विजय गरिएको माधव नेपाल सहितको अभिव्यक्ति सुनियो ।

११. १० वुंदे प्रस्ताव वमोजिम पार्टी स्थायी कमिटीको वैठक वोलाएर प्रस्ताव अनुमोदन गरि देउवा नेतृत्वको सरकारलाई विस्वासको मत नदिने र विपक्षमा मतदान गर्ने निर्देशन गर्यो तर माधव नेपाल सहितका २२ जना एमाले संसदहरुले देउवाको पक्षमा मतदान गर्नु भयो । आफ्नो मत विना पनि देउवा सरकारलाई विस्वासको मत पुग्ने परिस्थितिको अवस्थामा कार्यदलका सदस्यहरुले विशेष अनुरोध गर्दा पनि पार्टीको निर्णय र निर्देशनलाई हेक्का समेत नराखी कमरेड माधव नेपालले देउवाको पक्षमा मतदान गर्नु भयो ।

१२. यतिवेला एमाले पार्टीले पाँच वर्षे स्थायी सरकारको लागि भोट मागेर निर्वाचित एमाले संसदहरुको वीचवाट संसदीय दलको निर्वाचनवाट संसदीयदलको नेता चयन गरि सोही नेतालाई प्रधानमन्त्री वनाईएको सन्दर्भ स्मरण गर्न आवस्यक छ । दलीय कानुनको मर्यादा भित्र प्रधानमन्त्री हटाउने या फिर्ता गर्ने आफ्नै वैधानिक व्यवस्था छ । विपक्षसँगको मोर्चा कसेर होईन । तर सर्वोच्च अदालतको नियति अपव्याख्याको शिरानी ओडेर सुसाईट गोल गर्ने जस्तो गम्भीर अनुशासन विरोधि काम भयो । कमरेड !!! यहि तरिकाले तपाईं ( जो कोहि) पार्टी प्रमुख भए कसरी चलाउँनु हुन्छ पार्टी ?????

१३. ठीक छ, “जे भयो अब विर्सियाैँ मिलेर काम गराैँ आममाफी दियाैँ हामी सबैले एकअर्कालाई” भनेर पार्टी अध्यक्षले आवह्वान गर्नु भएको छ । १० वुंदे एकताको प्रस्ताव पार्टी केन्द्रीय कमिटीले समेत पारित गरीसकेको छ । अब के गर्नु पर्छ ? यो भन्दा अनुकुल पार्टी एक वनाउने अर्को कुन अवस्था आउँछ ? एकता चाहने पार्टी पंक्तिहरुका लागि अनुकुल समयको सदुपयोग गरि पार्टीको मूलप्रवाहमा समाहित हुन सवै नेता कार्यकर्ताहरुमा अनुरोध छ ।

एमालेको केन्द्रीय सदस्य ढुंगेल राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्ष छन । 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १७:५७