दैनिकी

  • ३१ असार २०७८, बिहीबार १०:१७

कसैले पनि अमानवीय अवस्थाको सामना गर्न नपरोस्

-विष्णु रिमाल

सम्मानित सर्वोच्च अदालतको परमादेशबाट २०७८ असार २९ गते नयाँ सरकारको गठनसंगै सम्माननीय प्रधानमन्त्रीको मूख्य सल्लाहकारको जिम्मेवारीबाट बिदा भएको छु । दोश्रो पटक यस जिम्मेवारीमा १,२३७ दिन अर्थात् ४० महिना भन्दा बढी काम गर्ने मौका पाएँ ।

राजनीतिमा संलग्न म जस्ता, जो कोहीका लागि पनि यो अवसर, शासन प्रणाली तथा सरकार सञ्चालनका कतिपय विषयमा जान्ने, बुझ्ने र गच्छेले भ्याएसम्म योगदान गर्न विरलै प्राप्त हुने क्षण थियो । यस्तो महत्वपूर्ण भूमिकामा मलाई योग्य ठानी मौका दिनु भएकोमा म पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

यो जिम्मेवारी एउटा “राजनीतिक नियुक्ति” मात्रै नभएर, आफैंमा एउटा सार्वजनिक पद थियो । त्यसैले जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त प्रसंशा होस् वा आलोचना दुबैलाई मैले सहज ग्रहण गरें । यद्यपी वैचारिक वा दलीय आबद्धताका कारणले, कतिपय सन्दर्भमा तथ्यबाट धेरै पर गएर गरिएका अस्वस्थ आक्रमण र अभद्र टिप्पणीले भने मलाई पनि अरुहरुलाई झैं नमिठोसंग घोची रहे ।

आफ्नो ‘शीर माथिको आकास’ ओगेट्ने क्रममा नेपाल सरकारका मूख्य सचिवदेखि सचिव तथा समग्र कर्मचारी साथीहरु, सुरक्षा निकाय अनि संबैधानिक अङ्गका जिम्मेवारहरुबाट प्राप्त साथ र समझदारी सदा स्मरणीय रहने छन् । म उहाँहरु सबैलाई धन्यवाद भन्न चाहन्छु ।

प्रधानमन्त्री संस्थासंग जोडिएका नीजि सचिवालय, स्वकीय सचिवालय र सल्लाहकार तथा विज्ञ समूहको फरक फरक सीमा र भूमिका हुने विषय स्पष्ट पार्न मैले पटक पटक प्रयास गरें । “सञ्चार शीप”मा रहेको कमीका कारणले हुनसक्छ, फेरी पनि धेरैभन्दा धेरै पार्टीका साथीहरु, विद्वत् वर्ग तथा आम नेपाली दिदीबहिनी-दाजुभाईहरुले सम्माननीय प्रधानमन्त्रीज्यूसंग प्रत्यक्ष सम्वाद गर्न, आफ्ना माग तथा गुनासा राख्न मलाई माध्यम बनाउन खोज्नु भयो । तर मेरो सीमाभन्दा बाहिरका परिस्थितिजन्य कारणबाट फेरी पनि कहिं कतै असुविधा पुगेको भए म दुःखी छु ।

हामीले पटक पटक ‘ढलेको सरकार दामी र वितेका नेता नामी’ ठान्ने प्रचलन देख्दै-भोग्दै आएका छौं । हाम्रो नेतृत्वको सरकारले कति काम गर्यो- गरेन? गर्न सक्यो वा सकेन … यी बिषयमा बहस होलान । विश्लेषण गरिएलान । यस सन्दर्भमा मेरो यत्ति मात्र भनाई छ, चालिस महिना पहिलेको हाम्रा वरिपरिका परिवेश हेरौं ।

तपाई-हाम्रा शहर/वस्तिमा भूकम्पले लडाएका संरचना उस्तै छन् या निर्माण भए? सडक-राजमार्गहरुका हालत उस्तै छन् वा फेरिए? खेतिपाती र सिंचाई, खानेपानी र सरसफाईका अवस्था जहाँको तहीं छन् या फेरिए? ज्यालाजीवीहरुको पारिश्रमिक जहाँको तहीं रहे वा बृद्धि गरिए? सामाजिक संरक्षणका कामहरु उकाले लागे या ओह्रालो लागे?

चालिस महिनाको अबधिमा १३/१४ महिनापछि सत्ताधारी दलभित्र शुरु गरिएको कचिंगल र कचिंगल बीच ‘देशभित्र र बाहिर’बाट सिर्जित अबरोध, नीजि स्वास्थ्यसंग पनि जुझ्दै-कोभिड महामारीसंग पनि लड्दै एउटा प्रधानमन्त्रीले यस अबधिमा गर्न सक्ने काम कति हुन सक्थ्यो होला ? … विनापूर्वाग्रह एकचोटी स्मरण गर्नुहोस्, अनि ‘ताली वा गाली’ के गर्नुपर्ने हो गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु ।

शासन सत्तामा संलग्नहरु अडानमा रहँदा उनीहरुलाई कमजोर पार्न परिवारका सदस्यहरुमाथि निशाना साध्ने कथा यदाकदा सुने कै हो । तिनका परिवारजनहरु एउटा नीति कथामा, बाघले ‘पाठाको शिकार’ गर्न “… तैंले नभए तेरो बाबुले पानी धमिल्याएको होला …” भने झैं आफूसंग कुनै पनि साइनो–सम्बन्ध नभएको अफवाहका शिकार बनाईंदा रहेछन् ।

योजनाबद्ध ढंगले सोसल मिडिया तथा अनलाइनहरु मार्फत चलाइएका यस्तै अफवाहहरुबाट म आफू आक्रान्त हुन परेपनि, ममाथि लक्षित आक्रमणमा संलग्नहरुले मात्र हैन कसैले पनि त्यस प्रकारको अमानवीय अवस्थाको सामना गर्न नपरोस्, कामना गर्दछु । धन्यवाद !!!

(निवर्तमान प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले फेसबुक सेयर गरेको विषय हामीले यहाँ प्रस्तुत गरेका हाैँ ।-सम्पादक)

प्रकाशित मिति: ३१ असार २०७८, बिहीबार १०:१७