१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नियुक्तिमा ‘धारा’ खोज्दै देउवाले देखाएको घुर्की दुई घण्टा पनि टिकेन


३० असार, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्तिको पत्र राष्ट्रपति कार्यालयले सोमबार दिउँसोे सार्वजनिक गर्‍यो । विज्ञप्तीको रुपमा सञ्चार माध्यममा आएको पत्रमा विगतमा जस्तो संविधानका धाराहरु खुलाइएको थिएन ।

विज्ञप्ती बाहिरिएको करिब एक घण्टापछाडिदेखि देउवाको नियुक्तिमा संविधानको धाराको खोजी हुन थाल्यो । तर चार लाइनको नियुक्ति पत्रमा कतै पनि धारा नभेटिएपछि कांग्रेस माओवादी वृत्तमा खैलाबैला सुरु भयो । सञ्चार माध्यममा नियुक्तिको भाषाको बारेमा अनेक कोणबाट समाचार सावर्जनिक हुन थाले । त्यसपछि कानुनविदहरुले राष्ट्रपतिको नियतमा शंका गर्दै मिडियामा आफ्ना भनाइ लेखाउन, देखाउन र सुनाउन थाले ।

राट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा देउवालाई सर्वोच्च अदालतको २०७८।३ ।२८ गतेको फैसला बमोजिक नियुक्त गरिएको उल्लेख छ । देउवाले अपरान्ह मुख्यसचिब शंकरदास बैरागी मार्फत नियुक्तिको भाषा सच्याउन आग्रह गरेको समाचार पनि बाहिरियो । तर त्यसमा कुनै प्रगति भएन ।

साँझ छ बजे देउवा प्रधानमन्त्रीको सपथ लिन शितल निवास पुग्नुभयो । त्यसभन्दा अघि नै उहाँका सत्तायात्राका सारथीहरु पुष्पकमल दाहाल र माधव नेपाल शितलनिवास पुगिसक्नु भएको थियो । शितल निवास पुगेपछि फेरि धाराको खोजी हुन थाल्यो । सत्ता सारथीहरुले धारा बिनाको नियुक्ति पत्रमा सपथ लिनु हुँदैन भनेपछि देउवाले नियुक्तिको भाषा नसच्चिएसम्म सपथ नलिने अडान लिनुभयो ।

यसबीचमा देउवा, नेपाल र दाहालको ‘कर्नर बैठक’ बस्यो । सपथमा सहभागी हुन गएकाहरु शितल निवासमा कुरेको कुरै भए । मुख्यसचिव बैरागी मार्फत नियुक्तिको भाषा सच्याउन माग गर्नुभएका प्रधानमन्त्री देउवा भाषा नसच्चिने जवाफ पाए पनि शपथ लिन राजी भएरै शितल निवास जानुभएको हो । स्रोतका अनुसार नियुक्तिको भाषा सच्याउनु पर्ने कुनै कारण नभएकोले त्यसमा शितलनिवास टसमस भएन ।

सहायक प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तीमा देउवाले धारा ८० बमोजिम पद तथा गोपनियताको सपथ लिएको उल्लेख छ । धारा ८० मा प्रधानमन्त्री नियुक्तिको होइन, सपथको व्यवस्था छ । पत्रका अनुसार देउवा र नियुक्त अन्य चार जना मन्त्रीले एउटै धारा ८० अनुसार सपथ लिनुभएको हो ।

शितल निवासमा राट्रपतिसँग केहीबेर छलफलमा राष्ट्रपतिले पत्र नसच्चिने अडानमा राष्ट्रपति बस्नुभयो । त्यसपछि देउवा सपथ लिन तयार हुनुभयो । तर सञ्चार माध्यममा शितल निवासले नियुक्तिको भाषा सच्याएको व्यापक प्रचार भयो । नियुक्तिको भाषा सच्चिएको पत्र कतै सार्वजनिक भएको छैन ।

नियुक्तिको भाषा सच्चिएर के लेखियो भने कसैले उल्लेख पनि गरेका छैनन् । राट्रपति कार्यालय स्रोतका अनुसार शितल निवासबाट देउवाको नियुक्तिको दोस्रो विज्ञप्ती जारी भएको छैन । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्तिका सम्बन्धमा राष्ट्रपति कार्यालयको वेबसाइटमा जुन विज्ञप्ती राखिएको छ त्यो नै आधिकारिक हो । दोस्रो विज्ञप्ती जारी भएको छैन,’ शितल निवास स्रोतले भन्यो ।

शितल निवासले प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्रिपरिषदमा नयाँ मन्त्रीहरुको नियुक्तिको अर्को विज्ञप्ती जारी गरेको छ । तर देउवाको नियुक्तिको होइन । सच्याइएको भनेको पत्रमा चाहिँ प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ को ९ बमोजिम मन्त्रिपरिषद विस्तार गरेको विवरण उल्लेख छ ।

सहायक प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तीमा देउवाले धारा ८० बमोजिम पद तथा गोपनियताको सपथ लिएको उल्लेख छ । धारा ८० मा प्रधानमन्त्री नियुक्तिको होइन, सपथको व्यवस्था छ । पत्रका अनुसार देउवा र नियुक्त अन्य चार जना मन्त्रीले एउटै धारा ८० अनुसार सपथ लिनुभएको हो ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १०:१०