८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

धनगढीमा सात हजार टन रासायनिक मल बिक्री


२९ असार,धनगढी । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि सात हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ ।

सरकारको अनुदानित मल बिक्री वितरण गर्दै आएको सो कार्यालयले गएको चैतदेखि हालसम्म डिएपी दुई हजार ७७४, युरिया चार हजार ४८१ र पोटास ९५ टन मल बिक्री गरेको छ ।

दुई सय २५ भन्दा बढी सहकारी संस्थामार्फत कम्पनीले उक्त अनुदानित मल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले डिएपी प्रतिक्विन्टल रु चार हजार ५५२, युरिया रु एक हजार ६५२ र पोटास रु तीन हजार ३५२ मा सहकारीलाई बिक्री गर्दैआएको छ ।

सहकारी संस्थाले ढुवानी र प्रशासनिक खर्च जोडेर किसानलाई मल बिक्री गर्ने गरेको छ । कार्यालय प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार कम्पनीको गोदाममा आहिले युरिया ६६० टन, डिएपी ५६ टन र पोटास १६६ टन मौज्दात छ । धानखेती गर्न कैलालीमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको पाण्डेयले बताउनुभयो ।

खपत वर्षेनी बढ्दै जाँदा १५ प्रतिशतभन्दा बढी परिमाणको मल आपूर्ति गरेर बिक्री गर्नुपरेको कार्यालय प्रमुख पाण्डेयले बताउनुभयो । प्रदेश नं ७ को डोटी र कञ्चनपुर बाहेकका जिल्लामा कृषि सामग्री कम्पनी धनगढी कार्यालयमार्फत मल बिक्री वितरण गरिँदै आएको छ ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १५:२८